गण्डकीमा सत्ता परिवर्तन : तीन सिट रहेको जनमोर्चालाई कुर्दै सत्ता ईतरका दलहरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३१ गते १८:१३
गण्डकीमा सत्ता परिवर्तन : तीन सिट रहेको जनमोर्चालाई कुर्दै सत्ता ईतरका दलहरु

सन्जय भट्टराई/नवलपुर । प्रदेश सभामा तीन सदस्य रहेको राष्ट्रिय जनमोर्चाले आधिकारिक धारणा नदिदा गण्डकी प्रदेशमा सरकार परिवर्तन विषयले मंगलबार  पनि गति लिन सकेन ।

गत चैत २५ गते माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका हरिबहादुर चुमानले आन्तरिक मामिला तथा कानुन मन्त्री र लेखबहादुर थापामगरले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीबाट राजीनामा दिए पछि प्रदेशमा सरकार परिवर्तनको विषयले चर्चा पाए पनि राष्ट्रिय जनमोर्चाले आधिकारिक धारणा नदिदा सरकार परिवर्तनको विषयले गति लिन सकेको छैन ।

गत आईतवार जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्र बहादुर केसीले सन्चार माध्यम सँग कुराकानी गर्ने क्रममा प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आए प्रस्तावको पक्षमा उभिने बताएको भए पनि जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले आफुहरु कस्ले के बोल्यो भन्दा पनि केन्द्रको आधिकारिक निर्णय पर्खिएको बताए । “अहिले सम्म हामीले सरकारलाई दिएको समर्थन फिर्ता गरेका छैनौं , नयाँ खालको परिस्थिति विकसित भयो भने हामीले तत्काल निर्णय गर्छौं” , थापाले भने । थापाले प्रदेश सरकारको विषयमा केन्द्रले गरेको निर्णय आफुहरुले मान्ने बताउदै केन्द्रको निर्देशन पर्खिरहेको बताए ।

नेपाली काङ्ग्रेसमा पनि सत्ता समीकरणको विषयलाई जनमोर्चाको निर्णय अनुसार अगाडी बढाउने विषयमा एकमत रहेको छ । सरकार परिवर्तनको विषयलाई अगाडी बढाउन र अन्य दल सँग छ्लफल गर्न काङ्ग्रेसले बनाएको वार्ता टोलिका संयोजक कुमार खडकाले आफुहरु जनमोर्चाको निर्णयलाई पर्खिरहेको बताए । “जनमोर्चाको अध्यक्षले बोली सक्नु भएको छ, अब उहाँहरुको आधिकारिक निर्णय पर्खिरहेका छौँ , निर्णय आउन साथ विश्वासको मत लिन लगाउने वा अविश्वासको प्रस्ताव ल्याउने कुरा टुङ्गिने छ” खडकाले भने । जनमोर्चा शतप्रतिशत आफुहरुको प्रस्तावमा पक्षमा रहने दावी गर्दै खडकाले सरकारको नेतृत्व कस्ले गर्ने, को को मन्त्री हुने भन्ने कुरा प्राविधिक विषय भएकाले यो विषयमा कुराकानी भने हुन बाकी रहेको बताए ।

उता जनमोर्चाका अध्यक्ष केसीको अभिव्यक्तिपछि गुरुङ नेतृत्वको सरकार ढाल्न उत्साहित भएका सत्ता इतरका काङ्ग्रेस , माओवादी केन्द्र र जसपा राजनीतिक जोड घटाउ र आ–आफ्नो पक्षमा  बहुमत जुटाउन कस्सिएर लागे पनि जनमोर्चाको निर्णय न आउदा उनिहरुको प्रयासले गति लिन नसकेको हो ।

गत चैत २५ गते सुरु भएको प्रदेश सभाको अधिवेशन वैशाख ६ गते सम्मलाई स्थगित छ । अब बस्ने बैठक अगावै सत्ता समीकरणको विषय टुङ्गाएर सरकार परिवर्तन गर्ने दिशामा सत्ता ईतरका दल कस्सिएका छ्न भने जनमोर्चालाई फकाएर सरकार जोगाउन मुख्य मन्त्री गुरुङ लागेका छ्न ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी २ सहित मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारको विपक्षमा २९ सांसद पुगेका छन् । प्रदेश सभामा एमाले पक्षका २८ सांसद ( १ स्वतन्त्र सहित) र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ ।

 

प्रकाशित : २०७७ चैत ३१ गते १८:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI