सरावलमा जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३१ गते १९:५०
सरावलमा जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान

मोहन पौडेल/परासी, ३१ चैत । कर्मचारी मिलन केन्द्र सरावल गाउँपालिका पश्चिम नवलपरासीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम आज सरावलमा सम्पन्न भएको छ ।
नववर्ष २०७८ को शुभागामनको अवसरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै संघीयताको अनुभूति हुने गरि कार्यक्रम ,बजेट र नीति बनाउने भएकोले त्यसलाई कार्यान्वयन र सफल बनाउन कर्मचारीको ठूलो भूमिका रहने बताउनुभयो । सबैले आफ्नो जिम्मेवारी बुझेर नयाँ वर्षमा नयाँ जोश,जाँगर र उत्साहका साथ लागेमा नमूना गाउँपालिका बनाउन सकिने विचार उहाँले व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको सम्बन्ध रहेकोले सबै मिलेर समृद्धि ल्याउनुपर्ने बताउनुभयो । जनप्रतिनिधिले बनाएका नीति,प्रतिवद्धता कर्मचारीले पूरा गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कर्मचारी मिलन केन्द्र सरावलका अध्यक्ष नरेश कोहारले नयाँ वर्षमा नयाँ उमंगका साथ जनताको सेवामा खटिने प्रतिवद्धता व्यक्त गर्नुभयो । आगामी दिनमा सरावल गाउँपालिकाका जेष्ठ नागरिकसँग कर्मचारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि आफूले दुई प्रतिशत तलब योगदान गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा सरावल- १ का वडाध्यक्ष भेषनारायण चौधरी, वडा नं ४ का अध्यक्ष छोटेलाल यादव,वडा नं ५ का अध्यक्ष दिनेश केवट,वडा नं ६ का अध्यक्ष कैलाश यादव, कार्यपालिका सदस्य छिमादेवी चौधरी , कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष सन्तकुमारी चौधरी, सचिव प्रेम बहादुर थापा,डोल्मा लामा,स्वास्थ शाखाका खेमनारायण खनाल,वडा नं ४ का सचिव अशोक पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

प्रकाशित : २०७७ चैत ३१ गते १९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI