No ads found for this position

कोरोना संकटमै बित्यो वर्ष २०७७ : नयाँ वर्षमा पनि घटेन त्रास

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १ गते १०:११
No ads found for this position
कोरोना संकटमै बित्यो वर्ष २०७७ : नयाँ वर्षमा पनि घटेन त्रास
No ads found for this position

कोरोनाभाइरस । २०७७ साललाई अबका केही वर्षपछि सम्झिने हो भने पनि सबैभन्दा बढी सम्झनामा आउने शब्द हो यो । गत वर्ष चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण यो वर्ष विश्व नै एउटा समस्यामा पर्यो । र, विश्व इतिहासमा एउटा ठूलो प्रकोपका रुपमा यसको सम्झना अब दशकौपछिसम्म पनि पक्कै हुनेछ ।

नेपालमा पनि विभिन्न आयामहरूमा कोरोनाका कारण यो वर्ष अनेक समस्याहरु देखिए । नेपालमा पहिलो पटक कोरोनाभाइरस गत वर्ष नै देखिएको थियो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले २०७६ सालको चैत महिनामा नै नेपालमा लकडाउन घोषणा गरेको थियो ।

त्यसैले २०७७ सालको १ वैशाख नेपालीहरूका लागि सुखद रहेन । अर्थात् एक वर्षअघि १ वैशाखमा नयाँ वर्ष मनाउने हेतुले खासै कुनै कार्यक्रम भएनन्, कुनै रमाइलो नेपाली मनमा देखिएन । त्यति बेला नयाँ वर्षको जुन उल्लास नेपाली मनमा हुनुपर्थ्यो, त्यो देखिएन । अहिले पनि नेपालमा फेरि लकडाउन हुनसक्ने सम्भावना देखिएको छ, कोरोनाभाइरस संक्रमितको संख्या पछिल्ला दिनमा दैनिक बढिरहेको छ ।

कोरोनाभाइरसका कारण एक वर्ष विश्वभरका देश समस्यामा परेका छन्, विश्वका हरेक क्षेत्रमा ठूलो समस्या देखिएको छ । नेपाल पनि यसको अपवाद हुन सकेको छैन । यो वर्षभर नेपालमा कोरोनाको त्रास त आफ्नो ठाउँमा छ, सँगसँगै अन्य क्षेत्रले पनि ठूलो समस्या भोग्नु परेको छ ।

वर्षको सुरुवातमा कोरोनाभाइरसको डर र त्रास जुन थियो, वर्षको अन्त्यमा आइपुग्दा पनि अहिले त्यो त्रास र डर कायम नै छ । नेपालमा पनि कोरोनाभाइरसका नयाँ भेरियन्ट देखिने सम्भावना बढ्दो छ, यसले थप डर, त्रास र सन्त्रास फैलाएको छ ।

यो वर्ष नेपालको मात्र होइन, विश्वकै लागि पनि अनुत्पादक रह्यो । विश्वभर मोबिलिटी हुन नसक्नुका कारण हरेक क्षेत्रमा समस्याहरु देखिए, आर्थिक गतिविधि लगभग ठप्प रह्यो, चलायमान यो विश्व केही समयका लागि हल्ट भयो ।

कोरोनाले विश्वमा कस्तो असर पारिदियो भने मानौँ, यो समय, यो वर्ष समय नै रोकियो ।

स्वास्थ्य क्षेत्र त झन् पछिल्ला दशकमा सबैभन्दा बढी समस्यामा यो वर्ष पर्यो । विश्वमा लाखौँले कोरोनाभाइरसका कारण ज्यान गुमाए । नेपालमा ३ हजारभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाए ।

कोरोनाको चाप अर्थतन्त्रमा

स्वास्थ्यका सँगसँगै यो वर्ष कोरोनाभाइरसका कारण नै आर्थिक क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्यो । विश्वभर यातायात ठप्प रह्यो । नेपालमा एउटा जिल्लाबाट अर्को जिल्ला जाने सवारी नचले जस्तै विश्वभर आर्थिक गतिविधि यो वर्ष ठप्प रह्यो । विश्वभर आयात तथा निर्यातका गतिविधिहरु ठप्प भए ।

यो वर्ष अर्थतन्त्र जसरी यति ठूलो समस्यामा पर्यो कि नेपाली बजारमा देखिएको समस्या अहिले पनि यथावत् रहेको छ । अहिले पनि बजार भाउ सधारण अवस्थामा आउन सकेको छैन ।

कोरोनाभाइरसका कारण समस्यामा परेको अर्थतन्त्रका कारण विश्वभरका उद्योगधन्दाहरू थप धरासायी बनेका छन्, नेपालका पनि अपवाद हुन सकेका छैनन् । यसका कारण बेरोजगारी समस्या थप चुलिएको छ ।

नेपालमा मात्र कोरोनाभाइरसका कारण १५ लाख ६७ हजारभन्दा बढीले रोजगारी गुमाएको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कोरोनाको अर्को असर शिक्षा र खेलकुदमा

कोरोनाभाइरसका कारण यो वर्ष सबैभन्दा बढी असर र प्रभाव परेको अर्को क्षेत्र हो, शिक्षा । कोरोनाभाइरसको संक्रमण बढेसँगै विश्वका विभिन्न देशमा विद्यालयहरु बन्द गरिए । नेपालमा पनि लामो समय विद्यालयहरु बन्द रहे । शैक्षिक सत्रमा पनि कोरोनाको असर पर्यो ।

यहीबीच अध्ययन र अध्यापनलाई नयाँ आयामबाट अगाडि बढाउन थालिएको छ । त्यो हो, अनलाइन लर्निङ । अहिले अनलाइन लर्निङ निकै प्रभावकारी हुन थालेको धेरैले आभास गरेका छन् ।

विश्वभर कोरोनाका कारण ठूलाठूला खेलकुदका इभेन्टहरु रद्द गरिए । नेपालमा पनि कोरोनाका कारण पहिले नै निर्धारित केही खेलकुद प्रतियोगिता हुन सकेनन् ।

प्रचलनमा शब्दहरु– क्वारेन्टिन, आइसोलेसन र कोरोनाकाल

​कोरोनाभाइरस संक्रमणका कारण विश्वभर नयाँ कुराहरूको अभ्यास बढ्न थालेको छ । अनलाइनको प्रचलन थप बढेको छ, केही खासै धेरै प्रचलनमा नभएका शब्दहरू पनि अहिले व्यापक बढेको छ ।

क्वारेन्टिन, आइसोलेसन, कोरोनाकाल, मास्क, स्यानिटाइजर, सामाजिक दूरी अर्थात् सोसल डिस्टेन्सलगायतका शब्दहरू यो वर्ष व्यापक प्रचलनमा आए ।

प्रकाशित : २०७८ वैशाख १ गते १०:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI