भेरी अस्पतालमा १८३ जनाको परीक्षण गर्दा १२७ कोरोना संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३ गते १४:४७
भेरी अस्पतालमा १८३ जनाको परीक्षण गर्दा १२७ कोरोना संक्रमित

काठमाडौँ — नेपालगन्जस्थित भेरी अस्पताल गत २४ घण्टामा १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना संक्रमित रहेको पाइएको जानकारी गराएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमा सूचना प्रकाशित गर्दै पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेको बताएको छ ।

 

कोरोनाको महामारी सुरु भएयता अस्पतालमा एकदिनमै यति धेरै संक्रमित भेटिएको पहिलोपटक भएको समेत बताएको छ । ‘यसले कोभिड-१९ संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ,’ अस्पतालले भनेको छ, ‘भेरी अस्पताल आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ । तर यही क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित छ ।’

अस्पतालले गम्भीर प्रकारका बिरामीहरुको संख्या यही अनुपातमा बढ्न नदिनका लागि सुरक्षाका मापदण्डहरुको पालना गर्नका लागि आग्रह गरेको छ । विगत केही दिन यता भारतसँग सीमा जोडिएका जिल्लाका साथै देशकै राजधानीलगायत विभिन्न १४ जिल्लामा संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयले बताइसकेको छ ।

प्रकाशित : २०७८ वैशाख ३ गते १४:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI