नौ महिनामा ३० गैँडा मरे

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ५ गते १७:२७
नौ महिनामा ३० गैँडा मरे
A female rhino died in the Setidevi Community Forest on Saturday, July 23, 2016. Photo: Tilak Ram Rimal.

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरी–सिकारीले मारेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ ।

प्राकृतिक कारणले मरेका गैँडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायत कारणले मर्ने गरेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ । हालै गैँडा गणना भएपछि कुन क्षेत्रमा कति गैँडा छन् भन्ने यकिन तथ्यांक आइसकेको छैन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्यांक निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए । चोरी–सिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ । केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी–सिकार हुन पाएको छैन । गत वर्ष चोरी–सिकार शून्य रहेको थियो । बरालले प्राकृतिक कारणबाट मर्ने संख्या पनि घटाउने प्रयास जारी रहेको जानकारी दिए ।

sarbottam cement

सन् २०१५ पछि यस वर्ष गैँडा गणना गरिएको हो । यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए । यसअघिको गणनामा यो संख्या ६०५ मात्रै रहेको थियो । त्यसपश्चात स्थानान्तरण र चीनलाई उपहार दिइएको भए पनि संख्या भने वृद्धि भएको छ ।

बाढीबाट केही गैँडा बगेर भारत पुगेको अनुमान छ । भारतबाट १० वटा गैँडा फिर्ता ल्याइएको भए पनि अझै केही गैँडा भारतीय भूभागमा रहेको अनुमान गरिएको छ । आशा गरेअनुसार गैँडाको संख्या बढेपछि संरक्षणकर्मी उत्साहित छन् । रासस

प्रकाशित : २०७८ वैशाख ५ गते १७:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI