हुर्कंदै पुष्पा र अञ्जलि

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ६ गते ९:१२
हुर्कंदै पुष्पा र अञ्जलि

सौराहा (चितवन), वैशाख ६ गते । प्रकृति संरक्षण कोष सौराहाका कर्मचारी लालबहादुर मोहद्रालाई अहिले बेवारिसे अवस्थामा भेटिएका गैँडाका केटाकेटी हुर्काउन ध्याउन्न छ । नवलपरासीको तमासपुरमा भेटिएकी पुष्पा (गैँडाको बच्चा)लाई सौराहा ल्याएर विगत १५ महिनादेखि हुर्काउँदै आउनुभएका मोहद्रालाई दुई हप्ताअघि निकुञ्जभित्र बेवारिसे अवस्थामा भेटिएकी अञ्जलिलाई पनि स्याहार्ने थप जिम्मेवारी थपिएको छ । अञ्जलि पनि निकुञ्जमा बेवारिसे भेटिएकी गैँडाको केटाकेटी हो ।
“दलदलमा फसेर टाउको मात्रै देखिएको अवस्थामा भेटिएकी पुष्पालाई मैले नै उद्धार गरेर ल्याएर हुर्काएँ”, उहाँले भन्नुभयो, “पुष्पालाई हुर्काएको ज्ञानले अहिले मलाई अञ्जलि हुर्काउन सजिलो भएको छ ।” एघार दिनकी अञ्जलि निकुञ्जमा भेटिएकी हो । उनलाई निकुञ्जका कर्मचारीले बेवारिसे अवस्थामा भेटेपछि प्रकृति संरक्षण कोषको जिम्मा लगाएका हुन् ।
“यसरी भेटिने अनाथ गैँडाका केटाकेटीलाई हामी ठूलो नहुँदासम्म ल्याक्टोजिन खुवाएर हुर्काउने गर्दछौँ”, मोहद्राले भन्नुभयो, “अहिले पनि अञ्जलिलाई दुई/दुई घण्टाको फरकमा हामीले ल्याक्टोजिन खुवाउछौँ ।”
अविवाहित मोहद्रा विवाहपूर्व नै आफूले दुईवटा छोरी पाएको हँसिलो जवाफ दिनुहुन्छ । “जङ्गलमा आमा गुमाएर बेवारिसे बनेका गैँडाका केटाकेटीलाई अहिले मैले नै हुर्काइरहेको छु । अहिले त ती केटाकेटी मेरै छोरी हुन् जस्तो माया लाग्न थालेको छ”, उहाँले भन्नुभयो ।
“मान्छेले सिकाउने र उसकी आमाले सिकाउने कुरामा त फरक पर्छ नै तर यसलाई हुर्काएर जङ्गलमा छाड्ने कुरा चुनौतीपूर्ण काम हो”, गैँडालाई सिकाउने उसको बानी, व्यवहार र खानपिनका सम्बन्धमा हो, उहाँको भनाइ छ ।
गैँडा दुर्लभ वन्यजन्तु हो । यो नेपाल र भारतमा मात्रै पाइने जनावर हो । नेपालमा पनि यसको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो । भर्खरै मात्रै सकिएको गैँडा गणनाअनुसार नेपालमा भेटिएका ७५२ गैँडामध्ये ६९४ चितवन निकुञ्जका हुन् । गैँडाका केटाकेटी विशेष माउबाट छुट्टिएर वा माउ मर्ने वा मारिँदा एक्लिएर अलपत्रमा पर्ने गर्दछ । विगत २२ वर्षको अवधिमा मरेका ४९८ गैँडामध्ये चोरीसिकारीले मारेका १६५ हो । यसरी मर्ने र मारिनेमा सुत्केरी गैँडा परेका खण्डमा त्यसको बच्चा बेवारिसे हुन पुग्छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल कतिपय अवस्थामा माउलाई चोरीसिकारीले मारेपछि पनि बच्चा एक्लिन पुगेको बताउनुहुन्छ । “बच्चा दलदलमा फसेपछि माउले छाडेर हिँड्ने, भाले गैँडाले माउलाई दच्काउँदा केटाकेटी छाडेर भाग्ने, कुनै कारणले माउ मरेमा पनि बच्चा एक्लिएर अलपत्र पर्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

प्रकाशित : २०७८ वैशाख ६ गते ९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI