नेपालद्वारा नेदरल्याण्ड्स समक्ष २०७ रनको लक्ष्य प्रस्तुत

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ७ गते १५:०१
नेपालद्वारा नेदरल्याण्ड्स समक्ष २०७ रनको लक्ष्य प्रस्तुत

नेपालले नेदरल्याण्ड्स समक्ष दुई सय सात रनको लक्ष्य प्रस्तुत गरेको छ । टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो अहिलेसम्मकै दोस्रो सर्बाधिक ठूलो योगफल हो । यसअघि नेपालले दक्षिण एशियाली खेलकुदमा भुटान बिरुद्ध २० ओभरमा मात्र तीन विकेटको क्षतिमा २३६ रनको योगफल तयार गरेको थियो । तर टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरियतामा नेपालभन्दा तीन स्थान मात्रै मुनि रहेको नेदरल्याण्ड्स बिरुद्धको प्रदर्शनले नेपालको ब्याटिंगमा सुधार आएको देखाएको हो ।
नेपालले नेदरल्याण्ड्स बिरुद्ध तयार गरेको योगफल प्रतियोगिताको सर्बाधिक ठूलो योगफल हो । यसअघि नेदरल्याण्ड्सले मलेसिया बिरुद्ध १९२ रनको योगफल तयार गरेको थियो ।
सुरुवाती र मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले १२ औं ओभरदेखि १७ औं ओभरको बीचमा ७१ रन जोडेपछि महत्वपूर्ण चार विकेट गुमाउन पुग्दा अपेक्षाकृत योगफल जोडन सकेन ।
नेपालको ब्याटिंगमा सोमपाल कामी र बिनोद भण्डारी अविजित रहनुभयो । सोमपाल मात्र १३ बलमा २१ रन तथा बिनोद भण्डारी सात बलमा सात रन बनाएर अविजित रहे ।
यद्दपी नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याउन कुशल भुर्तेलले प्रतियोगितामा लगातार तेस्रो अद्र्धशतक बनाए । उनले मात्र ४१ बलमा आफ्नो अद्र्धशतक पुरा गरे । १३ औं ओभरको अन्तिम बलमा आर्यन दत्तको बलमा छक्का लगाएर उनले अद्र्धशतक पुरा गर्दा नेपालले दुई विकेटको क्षतिमा ११७ रन जोडेको थियो । १५ औं ओभरको तेस्रो बलमा कुशल भुर्तेलले भिभियन किंग्माको बलमा डी लीडको हातमा क्याच थमाउनुअघि ६२ रनको योगदान दिए । उनले ४६ बलमा आठ चौका र एक छक्का लगाए ।
दिपेन्द्रसिंह ऐरीले अर्को छेऊबाट साथ दिएपछि नेपालले सम्मानजनक योगफल तयार गर्न सफल भयो । भुर्तेलले ऐरीसँग तेस्रो विकेटका लागि मात्र ४५ बलमा ७८ रनको साझेदारी गरे ।
ऐरीले मात्र २८ बलमा अद्र्धशतक लगाए । उनले १६ औं ओभरको पहिलो दुई बलमा दुई छक्का लगाएर अद्र्धशतक पुरा गरे। ओभरकै अर्को बलमा ३० बलमा तीन चौका र पाँच छक्का लगाएर ६० रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किए । पीटर सीलरले उनलाई भिस्सीको हातबाट क्याच आउट गराए । ऐरी पेभेलियन फर्किदा नेपालले १५ ओभर तीन बलमा १५४ रन जोडेको थियो । ऐरीपछि ब्याटिंग गर्न आएका कुशल मल्लले मात्र सात बलमा तीन छक्काको सहयोगमा १८ रन बनाएर पेभेलियन फर्किए । मल्ल पेभेलियन फर्किदा नेपालले १७ ओभरमा पाँच विकेटको क्षतिमा १६ ओभर चार बलमा १७६ रन बनाएको थियो । करण केसी मात्र एक रन बनाएर पेभेलियन फर्किए ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको नेपालले २० रनमै आशिफ शेषको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्यो । कुशल र आशिफको ओपनिङ जोडीले यसअघि प्रतियोगिताको दुबै खेलमा शतकीय साझेदारी गरेर उत्कृष्ट प्रदर्शन गरेेेका थिए। आशिफ भिभियन किंग्माकै बलमा डक आउट  भए । ज्ञानेन्द्र मल्लले १४ बलमा २० रन बनाएर पेभेलियन फर्किदा नेपालले सात ओभरमा ६३ रन जोडेको थियो । मल्लले १४ बलमा दुई चौका र एक छक्का लगाए ।
नेदरल्याण्ड्सका लागि पीटर सीलर र भिभियन किंग्माले सामान दुई दुई तथा बास डे लीड र आर्यन दत्तले एक एक विकेट लिए ।

प्रकाशित : २०७८ वैशाख ७ गते १५:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI