विष खुवाएर मारिएको कुकुर खाएर ६७ गिद्ध मरे

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ८ गते १७:३३
विष खुवाएर मारिएको कुकुर खाएर ६७ गिद्ध मरे

परासी । पश्चिम नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मृत फेला परेका छन् । जिल्लाको रामग्राम नगरपालिका वडा ४ जितपुरस्थित पर्तीजग्गामा ६७ वटा गिद्ध मृत फेला परेका हुन् । एउटा गिद्ध बिरामी अवस्थामा फेला परेको छ । बिरामी गिद्धको उपचार भैरहेको छ । सो क्षेत्रमा मारेर फालिएको कुकुरको सिनो खाएका कारण यति धेरै गिद्धको मृत्यु भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार जितपुरका एक व्यक्तिले विष खुवाई मारेर फालेको कुकुर खाएका कारण गिद्धको मृत्यु भएको अनुमान गरिएको छ ।

स्थानीयवासीका अनुसार मंगलबार दिउँसो ३ बजे आएका गिद्ध सिनो खाएर अचानक बिरामी भएर मर्न थालेका थिए ।  बिरामी गिद्ध धमाधम मर्न थालेपछि स्थानीयवासीले सम्बन्धित निकायमा सूचना दिएका थिए, तर चासो नदिएको गुनासो गरेका छन् ।

स्थानीयवासीका अनुसार डंगर अति संकटापन्न गिद्ध ३१ वटा, सानो खैरो अति संकटापन्न गिद्ध एउटा, हिमाली संकटापन्न ३३ वटा र राजगिद्ध (संरक्षित) २ वटा गरि कुल ६७ वटा गिद्ध मरेका छन् । मृत कुकुरको सिनोमा विषादी रहेको हुनसक्ने र सोही सिनो खाएर गिद्ध मरेको हुनसक्ने नेपाल पंक्षी संरक्षण संघ बुटवलले जनाएको छ । कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिको समेत खोजी कार्य भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित : २०७८ वैशाख ८ गते १७:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI