नवलपरासीमा एकैसाथ मरेका ५० प्रतिशत गिद्धको नमूना संकलन गरी काठमाडौं पठाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ९ गते १४:१४
नवलपरासीमा एकैसाथ मरेका ५० प्रतिशत गिद्धको नमूना संकलन गरी  काठमाडौं पठाईयो

परासी । बुधबार बिहान पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-४ जितपुरमा दर्जनौं गिद्ध मरेको अवस्थामा फेला परे। स्थानीय पाल्ही बहुमुखी क्याम्पस पछाडिको खुल्ला चौरमा मरेका गिद्ध छरिएका थिए। बिहान गाईवस्तु चराउन गएका स्थानीय किसानले चौरमा ठूलो संख्यामा मरेका गिद्ध देखेपछि स्थानीय जनप्रतिनिधि तथा प्रहरी प्रशासनलाई खबर गरेका थिए।

ठूलो संख्यामा गिद्ध मरेको थाहा पाएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंक्षी संरक्षण संघका प्राविधिकसहित पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र पनि गिद्ध मरेको स्थल जितपुर पुगे।

स्थानीयका अनुसार मंगलबार साँझदेखि नै गिद्धहरू झोक्राउने र बिरामी परेर बसेजस्तो देखिएको भए पनि बुधबार बिहान भने चौरभरि मरेको अवस्थामा फेला परेका थिए। गिद्धसँगै चौरमा ७-८ वटा मरेका कुकुर भेटिएकाले तीनै कुकुरको विषाक्त सिनो खाएर गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी मिश्रले संरक्षण गरिएका गिद्ध कसरी मरे भन्ने कारण पत्ता नलागे पनि गिद्धसँगै आधा दर्जन बढी मरेका कुकुर फेला परेकाले त्यही कुकुरको सिनो खाएर मरेको हुन सक्ने बताए।

उनले कुनै पनि पशुपंक्षीलाई विष खुवाएर मार्न नपाइने भएपनि कुकुर कसले मारेर फालेको हो त्यसबारे अनुसन्धान भइरहेको बताए।

‘चौरभरि छरिएका गिद्धको दृश्य साह्रै चित्त दुख्दो थियो, यो घटना कसरी भयो, विष खुवाएर मारिएका कुकुरको सिनो खाएर गिद्ध मरेको पाइए त्यसमा संलग्नको पहिचान गरि वन्यजन्तु ऐनअन्तर्गत कारबाही गरिनेछ,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने।

स्थानीय पवित्रा हरिजनले गाउँमा यसअघि यतिका धेरै गिद्ध कहिल्यै नदेखेको र आहार खोज्दै आएको हुनसक्ने बताइन्।

रामग्राम–४ का वडा अध्यक्ष मदन यादवले विष खुवाएर मारेर फालेका कुकुर खाएकै कारण गिद्ध मरेको दाबी गरे।

‘गिद्धसँगै मरेका कुकुर पनि छन्, कुनै कुकुर बोरामा छन्, कुनैलाई रसीले बाँधेर फालिएको छ, विष नखुवाई एकैपटक ७-८ वटा कुकुर मर्दैन,’ उनले भने।

कुकुरलाई कसले विष खुवाएर मारेर चौरमा फाल्यो भन्ने पत्ता नलागेको उनले बताए।

‘कुनै पनि जनावरलाई विष खुवाएर मार्न पाईदैन, मारे पनि गाडेको भए गिद्ध त मर्ने थिएनन्, जसले गरेको भए पनि यो ठूलो अपराध हो। छानविन गरेर प्रहरीले कारबाही गर्नुपर्छ,’ उनले भने।

मरेका सबै गिद्धहरुको बुधबार साँझसम्म पोष्टमार्टम गरी परीक्षणको लागि नमूना संकलन गरिएको छ।

११ वर्षदेखि नेपाल पंक्षी संरक्षण संघमा कार्यरत् ईश्वरी चौधरीले मरेकामध्ये झन्डै ५० प्रतिशत गिद्धको नमूना संकलन गरी बिहीबार काठमाडौं पठाइएको बताए।

एउटै प्रकृतिबाट मरेकोमा १० प्रतिशतको मात्र नमूना संकलन गरे हुने भए पनि ५० प्रतिशत गिद्धको नमूना संकलन गरिएको चौधरीले बताए।

चौधरीले पोष्टमार्टमकै क्रममा पनि विषाक्त सिनो खाएकै कारण गिद्धको मृत्यु भएको देखिए पनि थप परीक्षणपछि मात्र वास्तविक कारण पत्ता लाग्ने बताए।

चौधरीका अनुसार ६७ वटा गिद्ध मरेका छन्। एउटा हिमाली गिद्ध भने घाइते अवस्थामा भेटिएको र औषधी खुवाएपछि सुधार हुँदै गएको छ।

‘झोक्राएकै अवस्थामा स्थानीयले जानकारी दिएको भए उद्धार गरी केहीलाई बचाउन सकिने रहेछ, तर समयमा जानकारी हुन सकेन, जानकारी पाएर हामी त्यहाँ पुग्दा गिद्ध मरिसकेका थिए,’ उनले भने।

मरेकामध्ये ३३ वटा सेतो डंगर प्रजातिका छन्। तराई क्षेत्रमा पाइने यो प्रजातिको गिद्ध अति संकटापन्न अवस्थामा रहेको छ। संरक्षण र बासस्थानको अभावमा अति संकटापन्न अवस्थामा रहेको अवस्थामा एकै पटक ३३ वटा गिद्ध मर्दा यो प्रजाति नै लोप हुनसक्ने चौधरी बताउँछन्।

मरेकामध्ये ३१ वटा जाडो छल्न हिउँदमा तराई क्षेत्रमा आएका हिमाली गिद्ध छन्। त्यस्तै बाहिरी देशबाट आएका राजगिद्ध २ र एउटा सानो खैरो गिद्ध मरेको उनले बताए।

तराई क्षेत्रमा पाइने सानो खैरो गिद्ध पनि अत्यन्त थोरै संख्यामा रहेको चौधरीले बताए।

‘केही व्यक्तिको असावधानी र लापरवाहीका कारण जाडो छल्न तराई आएर फर्किने अवस्थाका हिमाली र राजगिद्धको पनि ज्यान गएको छ, पंक्षी संरक्षणमा लागेका एक दशकमा यति धेरै संख्यामा एकै पटक गिद्ध मरेको देखेको मैले पहिलो पटक हो,’ उनले भने।

जिल्लाभित्रै गिद्ध संरक्षण केन्द्र स्थापना गरिएपछि नवलपरासी जिल्लामा मात्र होइन छिमेकी जिल्लामा समेत गिद्धको संख्या बढिरहेको थियो।

२०-२५ वर्षअघि सम्म नेपालका तराई, पहाड तथा हिमाल जुनसुकै स्थानमा पनि गिद्धका बथान देखिन्थे।

गाउँघरमा बनजंगलमा चर्न गएको गाईगोरु लडेर मर्दा होस् वा गोठमै बाँधेको अवस्थामा मृत्यु भएको पशु लगेर फालेको केहीबेरमै सयौंको संख्यामा गिद्धको बथान आई सिनो खाएर भ्याइसक्थे।

विस्तारै गिद्धको संख्या घट्दै गयो। गाउँघरमा मरेको पशु खान आउने गिद्धको बथान सानो हुँदै गयो। बनजंगलमा एक-दुई गर्दै मरेका गिद्ध भेटिने क्रम बढ्न थाल्यो। लामो समयको अध्ययनपछि यसरी गिद्ध मर्दै जानुमा रोगी पशु जसलाई डाईक्लोफेनेक औषधी खुवाइएको थियो र मृत्युपछि त्यसैको सिनो खानु मुख्य कारण रहेको पुष्टि भयो।

त्यसपछि नेपाल सरकारले उक्त औषधी बिक्री वितरण र प्रयोगमा रोक लगाएको थियो भने नेपालमा गिद्ध संरक्षणको अभियान पनि सुरू गरिएको थियो। सन् २००६ मा नवलपरासीको पिठौलीमा स्थानीय समुदाय र सामुदायिक वनका उपभोक्ता मिलेर जटायु रेष्टुरेन्ट सञ्चालन गरिएको थियो।

उक्त रेष्टुरेण्टमा वृद्ध, अशक्त तथा बेकामी गाईवस्तुलाई किसानबाट संकलन गरी पालनपोषण गरि उनीहरूको मृत्यु भएपछि गिद्धको आहाराको लागि दिइन्छ। रुपन्देहीको गैंडहवा तालमा पनि गिद्ध रेष्टुरेन्ट सञ्चालन गरेपछि फेरि गिद्धको बथान देखिन थालेको थियो।

जटायु रेष्टुरेन्टसँगै गिद्ध संरक्षणको अभियान सुरू गरिएपछि पछिल्लो समय नवलपुर क्षेत्रमा गिद्धहरूको संख्या बढिरहेको थियो।

‘एकै स्थानमा ४ सय जति गिद्ध सिनो खान आउने गर्थे, यसरी हेर्दा पनि गिद्ध बढिरहेको देखिएको थियो तर वर्षौं लगाएर थपिएका गिद्ध एकै पटक मरेका छन्,’ चौधरी भन्छन्।

नेपालमा झन्डै दुई दशकदेखि पंक्षी संरक्षणको अभियान सञ्चाल गरिए पनि सर्वसाधारणलाई प्रकृति संरक्षणमा जीवजन्तु र पंक्षीको महत्व बुझाउन नसकिएको उनको भनाइ छ।

‘हामी जहाँ गिद्ध बस्छ, जहाँ संरक्षण गरिएको छ त्यहीँमात्र केन्द्रीत भयौं, तर गिद्ध विचरणको लागि देशभित्र मात्र नभएर बाहिरसमेत जाने भए पनि अरू क्षेत्रमा भने बुझाउनेतर्फ लागेनौं,’ चौधरीले भने।

मरेका सबै गिद्धलाई पोष्टमार्टमपछि खाडल खनेर बुधबार साँझ नै पुरिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए।

 

 

 

प्रकाशित : २०७८ वैशाख ९ गते १४:१४
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI