गण्डकी प्रदेश सभामा १५ गते मतदान

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १२ गते १६:३२
गण्डकी प्रदेश सभामा १५ गते मतदान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव भोलि सोमबार विशेष अधिवेशनमा पेश हुने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

 

सोमबारदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । र, पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यतालिका तय भएको छ ।

सोमबार सबै दलका नेताहरुले आफ्नो कुरा राख्नेछन् भने मंगलबार पनि पुनः यसै विषयमा छलफल हुने जनाइएको छ । बुधबार अर्थात् बैठकको तेस्रो दिन भने मुख्यमन्त्रीको पक्ष र विपक्षमा मतदान हुने कार्यसूची तय भएको बताइएको छ ।

६० सदस्यीय रहेको प्रदेश सभामा बहुमत ल्याउन मुख्यमन्त्री गुरुङले ३१ मत प्रदान गर्नुपर्ने हुन्छ ।

हाल प्रदेश सभामा एमालेका २७ सांसद रहेका छन् । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, नयाँ शक्ति नेपालका २, राष्ट्रिय जनमोर्चा २, र स्वतन्त्र २ रहेका छन् ।

जसमध्ये २८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेका छन् । जनमोर्चाले अविश्वासको प्रस्तावमा साथ दिने बताए पनि तत्काल हस्ताक्षर गरेको छैन ।

प्रकाशित : २०७८ वैशाख १२ गते १६:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI