उपचार अभावमा कोभिड संक्रमितको मृत्यु : दुई दिनको फरकमा बाबु-छोराको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १४ गते ११:१६
उपचार अभावमा कोभिड संक्रमितको मृत्यु : दुई दिनको फरकमा बाबु-छोराको मृत्यु

परासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिका-९ का ३५ वर्षीय कोभिड संक्रमित युवकको अस्पतालमा बेड नपाउँदा मृत्यु भएको छ। श्वास फेर्न गार्‍हो भएपछि उनलाई सोमबार पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएर सामान्य उपचार सुरू गरिएको थियो ।

आईसियुमा राखेर उपचार गर्नुपर्ने भए पनि जिल्लामा सो सेवा उपलब्ध थिएन । उनको थप उपचारका लागि प्रदेश सरकनरले तोकेको भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरे पनि बेड नभएको जवाफ आएको थियो । त्यसपछि सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गरेपनि उनको मृत्यु भएको  पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले बताए ।

 

 

उनले भने ‘हामीले सोमबारदेखि भैरहवा र बुटवलको कोभिड अस्पतालमा बेडको व्यवस्था गर्न अनुरोध गर्दै आएका थियौँ । आईसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई बेड अभावले जिल्ला अस्पतालमै राख्नुपर्दा उपचार अभावमै मंगलबार बिहान उनको ज्यान गयो ।

दुई दिन अघि मात्र उनका बाबुको कोभिडकै कारण घरमा मृत्यु भएको थियो । दोस्रो चरणको कोभिड संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

प्रकाशित : २०७८ वैशाख १४ गते ११:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI