‘गण्डकीमा सत्ता लम्ब्याउन कोभिडको नाटक’

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १४ गते १४:३६
‘गण्डकीमा सत्ता लम्ब्याउन कोभिडको नाटक’

पोखरा : गण्डकी प्रदेश सभामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेले सदन अवरुद्ध गरेको छ । पीसीआर परीक्षणविनै बैठक राखिएको र कोभिड-१९ संक्रमण फैलन सक्ने भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

एमाले सांसदहरूले बैठकको सुरुआतमै उठेर आपत्ति जनाएका थिए । त्यसलगत्तै एमाले सांसद राजीव पहारीले कोभिड-१९ परीक्षणविना बैठक राखिन नहुने बताएका थिए । आधा भन्दा बढी सांसदले दोस्रो डोजको खोप पनि नलगाएको अवस्थामा भौतिक दूरी कायम नगरी बैठक राख्‍न नहुने उनको भनाइ थियो । ‘आधा भन्दा बढी सांसदले दोस्रो डोजको खोप नलगाएको अवस्था छ,’ उनको प्रश्न थियो, ‘हेल्थ प्रोटोकल पूरा नगरी, भौतिक दूरी कायम नगरी बस्दा संक्रमण भए त्यसको जिम्मेवार को हुने ?’

सरकारले जनतालाई घरभित्रै बस्न निर्देशन दिएका बेला प्रतिनिधिनै दूरी कायम नगरी भेला हुन नहुने उनको तर्क थियो । ‘जनतालाई घर भित्रै रहनु भनेर निर्देशन जारी गर्दा हामी सबै यहाँ बैठक बस्न मिल्दैन । हामीमा दीर्घरोग पनि छ, धेरै माननीय पनि प्रेसर, सुगर, थाइराइडबाट ग्रस्त भएकाले संक्रमण छिटो हुन सक्छ,’ उनले भने।

विशेष अधिवेशनको पहिलो बैठकमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षणको माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाएका थिए ।
पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । अविश्वास प्रस्तावमाथि हुने मतदान धकेलेर केही समय निकाल्ने र दलहरूसँग छलफल गर्ने सत्तापक्षको योजना छ । आजको बैठकमा बोल्नका लागि २५ जनाको कार्यसूची थियो ।

सत्तारुढ दलले नै कोरोनाको बहानामा सदन अवरुद्ध गर्नु ‘नौटंकी’ भएको विपक्षी दलका सांसद बताउँछन् । पदमा केही दिन टिकिरहनका लागि मात्रै सत्तारुढ दलले कोरोनाको नाटक गरेको उनीहरूको धारणा छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारले आफैंले गर्नुपर्ने काम सदनलाई थोपरेर केही दिन सत्तामा टिक्न खोजेको बताए । कोरोना नियन्त्रण, परीक्षणको काम सरकारले नै गर्नुपर्ने भए पनि सदन चल्न नदिन चाल चलेको उनले बताए । ‘परीक्षण सदनले होइन, सरकारले गर्ने हो, कोरोना भन्दै सदन चल्न नदिने यो अलोकतान्त्रिक कदम हो,’ चुमानले भने । सदन चलाउन हरसम्भव प्रयास गर्ने उनको भनाइ छ ।

कांग्रेस सांसद दोबाटे विश्वकर्माले सत्ताधारी दलले नै सदन अवरुद्ध गर्नु गैरन्यायिक र अकल्पनीय विषय भएको बताए । सरकारले आफूले काम नगरी प्रदेश सभा बैठकलाई अवरुद्ध गरेर सत्तालोलुप चरित्र देखाएको उनको ठम्याइँ छ । ‘१३ गते बैठक राख्ने भनेर भनेपछि सरकारले नै पीसीआर गरेर बैठक राख्नुपथ्र्यो,’ विश्वकर्माले भने, ‘आफूले गर्नुपर्ने काम आफैं नगर्ने अनि संसदमाथि हान्ने काम भएको छ, यो गैरन्यायिक हो, उहाँहरू नाटक गरिरहनु भएको छ ।’

जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले सरकारले आफ्नै बदनामी हुनेगरी काम गरेको बताइन् । सरकार दिनानुदिन बद्नाम बनिरहेको र सत्ताका लागि जे पनि गर्न सक्छ भन्ने प्रस्टाएको उनले थपिन् । ‘सत्तामा बस्न जे पनि गर्न सक्छौं भन्ने उदाहरण देखाए, यो सरकारकै बद्नाम हुने काम हो,’ उनले भनिन् ।

कार्यव्यवस्था परामर्श समितिमा सरकारका प्रवक्ता तथा दोहोरो मन्त्रालय सम्हालेका मन्त्री रामशरण बस्नेतकै सहमतिमा कार्यसूची बने पनि उनीहरूले नै सहमति तोडेको लामाले बताइन् । ‘हामी एक्लैले कार्यसूची बनाएर उहाँहरूलाई ल्याएका होइनौं, मन्त्री, सांसदकै सहभागितामा बनाएको हो,’ उनले भनिन्, ‘केही दिन सत्ता लम्बाउने खेल बाहेक केही होइन ।’

गण्डकी प्रदेशको विशेष अधिवेशन सोमबारबाट सुरु भएको हो । अधिवेशनको पहिलो दिनको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव पेस गरेका थिए । बैठकमा दलहरूबीच को सत्तालोलुप र सुविधाभोगी भन्नेमा बाझाबाझ भएको थियो ।

आजको बैठकमा २५ सांसद बोल्ने कार्यसूची थियो । आज सांसदहरूले छलफल गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र भोलि अविश्वास प्रस्तावमा मतदान गर्ने योजना थियो । तर एमाले सांसदहरूले बैठक अवरुद्ध गर्दा मतदान गर्ने दिन लम्बिँदै जाने देखिन्छ ।

प्रकाशित : २०७८ वैशाख १४ गते १४:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI