निषेधाज्ञा हुने भएपछि एकैदिन ५ लाखले छाडे काठमाडौं

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १५ गते ८:०५
निषेधाज्ञा हुने भएपछि एकैदिन ५ लाखले छाडे काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ ।

कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो । यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरिभराउ भएको जानकारी दिए ।

देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको उनले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाख जनाले उपत्यका छोडेको अनुमान गरिएको छ । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सङ्ख्यामा उल्लेख गर्न नसके पनि नाकामा दशैँ–तिहारकै जस्तो भीड बढेको बताए । यो खबर आजाको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७८ वैशाख १५ गते ८:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI