त्रिवेणीमा हेल्थ डेस्क

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १६ गते ११:३१
त्रिवेणीमा हेल्थ डेस्क

नारायण शर्मा/पूर्वी नवलपरासी 

गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्योतिराज अर्यालका अनुसार एक जना अहेब र एक अनमी स्टाफ राखेर हेल्थ डेस्क सञ्चालन गरिएको हो । स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको हो ।

पहिलो लहरको कोरोना संक्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो । डेस्कले सीमा नाकामा आउजाउ गर्नेको ज्वरो जाँच्ने र ठेगाना लेख्ने काम गर्थ्यो ।

सिमानाका भएका कारण प्रदेश सरकारले स्वास्थ्यकर्मी राख्नुपर्नेमा त्यसो नगरी गाउँपालिकालाई जिम्मा दिँदा पर्याप्त स्वास्थ्यकर्मी परिचालन गर्न नसकिएको अर्यालले बताए । ‘यो प्रदेश सरकारको काम हो तर वास्तै गर्दैन’ उनले भने, ‘गाउँपालिकाको सीमित बजेटले सीमा नाकाको जिम्मेवारी धान्न सकिन्न ।’

१३ महिनाअघि देखि बन्द त्रिवेणी भन्सार नाका भने अझै खुलेको छैन । नाका नखुल्दै फेरि त्यहाँ हेल्थ डेस्क स्थापना गरिएको हो । कम्तीमा ६ स्वास्थ्यकर्मी राखेर कम्तीमा भारतबाट त्यो नाका हुँदै नेपाल भित्रिनेको पीसीआर परीक्षणको व्यवस्था गर्न सके प्रभावकारी हुने स्थानीयले बताए । सिमानाकामै पीसीआर परीक्षण नगरी घर पठाउँदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिएको छ ।

ज्वरो नाप्ने र ठेगाना लेख्नेबाहेक २ कर्मचारीबाट अरू काम हुन नसक्ने गाउँपालिका अध्यक्ष डम्बर जिसी बताउँछन् । त्रिवेणी नाकामा प्रदेश सरकारले चासो नदिएका कारण पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन नसकिने उनले बताए ।

जिल्लामै पीसीआर परीक्षण

जिल्ला अस्पतालमा पीसीआर ल्याब स्थापना गरी कोरोना परीक्षण पनि सुरु गरिएको छ । अस्पतालका सूचना अधिकृत छवि सुवेदीका अनुसार बिहान ८ बजेबाट बेलुका ६ बजेसम्म ल्याब सञ्चालन गरिएको छ ।

पीसीआर २४ घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न कम्तीमा १७ जना स्वास्थ्यकर्मी आवश्यक पर्नेमा ५ जना स्वास्थ्यकर्मीले ल्याब धानेका छन् । यहाँको ल्याबमा एक लटमा ९६ जनाको पीसीआर (स्वाब) जाँच गर्न मिल्छ ।

 

प्रकाशित : २०७८ वैशाख १६ गते ११:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI