संक्रमणदर उच्च , डिस्चार्ज न्युन

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १७ गते ८:५१
संक्रमणदर उच्च , डिस्चार्ज न्युन

काठमाडौं। दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् ।

केही दिनयता संक्रमित संख्या बढ्दै र डिस्चार्ज दर निकै न्यून छ । हालसम्म कुल संक्रमितमध्ये ८८ दशमलव २३ प्रतिशत डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ९७ जनाको पीसीआर र ९ सय ६३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर संक्रमित संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । गत वैशाखमा देशभर कुल संक्रमित संख्या २ लाख ८१ हजार ५ सय ८७ थियो । गत १ वैशाखदेखि बिहीबारसम्म थप ३५ हजार ९ सय ४३ संक्रमण पुष्टि भएको छ । हाल, देशभर सक्रिय संक्रमित सख्ंया ३४ हजार १ सय १७ पुगेको छ ।

अहिलेसम्म २ लाख ८० हजार १ सय ६७ संक्रमित निको भएका छन् । देशभर ५९ व्यक्ति क्वारेन्टाइनमा छन् । त्यस्तै, देशभर ३ सय ३७ आईसीयू र १ सय ७ जना भेन्टिलेटरमा गरी ४ सय ४४ बिरामी उपचाररत छन् । जसअन्तर्गत प्रदेश १ मा ३६ आईसीयू र ६ भेन्टिलेटरमा, प्रदेश २ मा १० आईसीयू, बाग्मती प्रदेशमा १ सय ५६ आईसीयू र ६७ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा पाँच आईसीयू र एक भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८७ आईसीयू र २१ भेन्टिलेटर, कर्णालीमा २३ आईसीयू र पाँच जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २० आईसीयू र सात भेन्टिलेटरमा छन् । काठमाडौं उपत्यकाका अस्पतालमा १ सय ७२ संक्रमित आईसीयू र भेन्टिलेटरमा छन् । राजधानी दैनिकबाट

प्रकाशित : २०७८ वैशाख १७ गते ८:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI