२४ घण्टामा पश्चिम नवलपरासीमा पाँच संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १८ गते १५:२२
२४ घण्टामा पश्चिम  नवलपरासीमा पाँच संक्रमितको मृत्यु

परासी : पश्चिम नवलपरासीमा २४ घण्टाको अन्तरालमा ५ जनाको मृत्यु भएको छ। शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म मृत्यु हुनेमा रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका २/२ जना छन्।

सरावल गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए। उनीहरुमध्ये सुनवल नगरपालिका-६ का ८४ वर्षीय पुरुषको शुक्रबार होम आइसोलेसनमा र सोही नगरपालिका-७ का ८५ वर्षीय पुरुषको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यसैगरी रामग्राम नगरपालिकाका-६ का ४२ वर्षीय पुरुषको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

शनिबार बिहान मात्र २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका-१० की ४५ वर्षीया महिला छन्। उनको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो। त्यस्तै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार सरावल गाउँपालिका-२ का ४५ वर्षिय युवकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए।

बैशाखको पहिलो सातादेखि शनिबारसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। संक्रिय संक्रमितको संख्या ३ सय ५० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।  मृत्यु हुनेमा सबैभन्दा बढी रामग्राम नगरपालिकामा मात्र ७ जना छन्। हालसम्म जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

प्रकाशित : २०७८ वैशाख १८ गते १५:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI