No ads found for this position

संक्रमण दर ४० प्रतिशत

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते ७:३३
No ads found for this position
संक्रमण दर ४० प्रतिशत
No ads found for this position

काठमाडाैं । कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च संक्रमण दर हो । यसअघि गत बिहीबार संक्रमण दर ३८.३५ प्रतिशत थियो । ‘केही दिनयता हामीकहाँ संक्रमण दर भारतको दाँजोमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने ।

कोरोना संक्रमणले शनिबार १९ जनाको मृत्यु भएसँगै एक सातामा ज्यान गुमाएकाको संख्या १ सय ६२ पुगेको छ । हाल सरदर दुई सय जना प्रयोगशाला प्रमाणित संक्रमितमा एक जनाको मृत्यु भइरहेको छ । एक सातामा ३१ हजार ८ सय ६ जना पीसीआर प्रमाणित संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७ सय ६ जनामा संक्रमण पाइएको छ । एक दिनमा संक्रमण पुष्टि भएको यो संख्या पनि हालसम्मकै बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एकदेखि डेढ प्रतिशतका दरमा बढिरहेको छ । हाल देशभरिमा कोभिडका ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित छन्, जुन कुल संक्रमितको १३.१४ प्रतिशत हो । एक जना संक्रमितले अन्य व्यक्तिलाई सार्ने दरसमेत केही दिनयता भारतको दाँजोमा नेपालमा बढी देखिएको छ । ‘हामीकहाँ कुनै ठाउँमा संक्रमित व्यक्ति पहिचान हुँदा उनका वरिपरिका सबैजसो कोभिड पोजिटिभ देखिने अवस्था छ,’ सहप्रवक्ता डा अधिकारीले भने । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७८ वैशाख १९ गते ७:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI