लुम्बिनीमा सांसद र प्रहरीबीच झडप, केही सांसद घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते २०:२४
लुम्बिनीमा सांसद र प्रहरीबीच झडप, केही सांसद घाइते

बुटवल : लुम्बिनी प्रदेश, प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

अहिले मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख  धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बलप्रयोग गरेको हो । यादव अहिले घेराबाट निस्किसकेका छन् ।  मुख्यमन्त्री पोखरेलले अहिले राति नै पद तथा गोपनियताको शपथ लिने बुझिएको छ । प्रदेश प्रमुख यादव मुख्यमन्त्रीकाे कार्यालय पुगिसकेका छन् ।  सांसदहरूले प्रहरीले दमन गरेकाे भन्दै नाराबाजी गरेका थिए ।

 

 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त भएका हुन्। आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । यसअघि पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ (२) बमोजिम बनेको थियो । धारा १६८(१) मा संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर पोखरेलले आज बिहान राजीनामा दिएका थिए ।  पाेखरेल अल्पमतमा परिसकेका छन् । विपक्षी तथा एमालेकै सांसद गरी ४२ जनाले प्रदेश प्रमुखलाई  शपथ राेक्न हस्ताक्षरसहितकाे पत्र बुझाइसकेका छन् । ८१  सदस्यीय प्रदेश सभामा बहुमत ल्याउन ४१ सांसद चाहिन्छ ।

प्रकाशित : २०७८ वैशाख १९ गते २०:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI