राम्चेको पहिरो: पिर-ब्यथा झन् भन्दा झन् गहिरो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २० गते ९:३०
राम्चेको पहिरो: पिर-ब्यथा झन् भन्दा झन् गहिरो

सालिकराम कोइराला/राम्चे-नवलपुर

उमेरले तीन बिसे दश कटिसकेका केशर ठाडा राई मगरलाई यतिबेला पिरै पिरले गिजोलेको छ । घरले जा-जा र वनले आईज-आईज भन्ने बेलासम्मपनि उनको कुरो कसैले नसुनिदिएपछि राई औधि पिरोलिएका हुन् ।

गाउँको शिरमा भिर छ,राम्चेलीलाई त्यहि भिर कतिखेर खस्ने हो भन्ने सँधैभरि पिर छ।”पानी पर्यो कि त,लौ लयो भन्दै काहालिन पर्छ” केशरले भने ।उनि बाजे-बराजुको पालादेखिनै यहाँ बस्दै आएका हुन् ।राम्चेभिर हुप्सेकोट गाउँपालिका ५ राम्चे गाउँको शिरानमा पर्छ । केरूङे खोलाको मुहानमा रहेको राम्चेको पहिरो हुप्सेकोटको मात्र हैन कावासोतीबासीको पनि दशकौदेखिको टाउको दुखाईको बिषय बनेको छ ।

त्यसो त राम्चेलीलाई सो ठाउँबाट रूद्रपुरगढी(धौवादी)स्थानान्तरण गर्न पालिकाले योजना नबनाएको पनि हैन । तर त्यो योजना धुलिमाटीमा त्यसै बिलायो । दुई बर्ष अघि ७६ भदौमा तात्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बस्ती सार्न “धौवादी एकीकृत नमूना बस्ती” योजनाको शिलान्यास त गरे,तर त्यो योजनाले हालसम्म सिन्को सम्मपनि भाँच्न सकेको छैन ।

नमूना बस्ती योजनाको साईनबोर्ड ढलेझैं त्यसले राम्चेबासीको आशा र भरोशा दुबै गर्लम्म ढालिदिएको छ । “त्यो धवाडीमा त हामी सर्दैन,पानी-सानी छैन।पाई अझै एकघण्टा टाढा पर्छ।झन् दुखः पाउँछ,हामी त त्यहाँ जान्न।” श्रीलाल सिंजालीले अपाएक भएको भन्दै आफ्ना ब्यथा एकै सासमा पोखे।उनलाई पालिकाले सार्ने भनेको ठाउँमा जान रत्तिभर मन छैन ।

सिंजाली मात्र हैन,धौवादीमा सर्न राम्चेका कसैलाई मन छैन । यहाँ ३३ घर मगरै-मगरको बस्ती छ । करिव दुईसय जनसंख्या रहेको गाउँमा रूपकला प्राथमिक विधालयले वाल-वालिकालाई औपचारिक शिक्षा दिदैं आएको छ ।जीवन धान्न खेतीपाती बाहेक रेब्दी पाखो र देविथानमा अम्रिसो लगाउँदै आएका छन्।पोखरी,हर्दे,वाखोर,धौलाबसेनी, दुलेङ्गा र डम्बर राम्चेबासीका नजिकका पाई र बस्ती हुन् ।

“धर्ती जम्मै धाँजा फाटेको छ।ठाउँ-ठाउँमा चर्केको छ । कतिखेर सरलाक्-सुरूलुक् लाने हो थाहा छैन।” स्थानीय आश बहादुर चितौरे मगरले भने।अब हामी यहाँ बस्न सक्दैनौ, कतिनै तारजाली लगाए पनि पहिरो रोक्न सकनौ ।उनि रूपकला प्राथमिक विधालय ब्यबस्थापन समितिका अध्यक्ष हुन् । राम्चेबासी रातदिन त्रासमा बाँच्नु परेको र बर्खामा मात्र हैन हिउँदमा समेत सुख्खा पहिरोले सताउने गरेको उनको भनाई रहेको छ।

राम्चेका ३३ घर परिवारलाई समयमै यहाँबाट अन्यत्र स्थानान्तरण नगर्ने हो भने पहिरोले ठूलो धन-जनको क्षतिहुने कुरामा दुईमतै छैन।तर यहाँका स्थानीयबासी एकजना पनि पालिकाले सार्न भनेको धौवादी जान तयार छैनन् ।बरू उनिहरूको रोजाईमा जुकेपानी, बेलुवा,गिरूवारी र झ्यालबास रहेको छ ।पालिकाले उनिहरूको ईच्छा अनुसार बस्ती सारिदेओस् भन्ने सबैको चाहना रहेको छ।

दुईबर्ष अघि तामझामका साथ शिलान्यास गरिएको नमूना बस्तीको योजना अहिले अलपत्र परेको छ ।सस्तो लोकप्रियताकोलागि गरिने यस्ता कार्यक्रम कार्यान्वयन गर्न नसक्दा पालिकाप्रतिनै प्रश्न चिन्ह उठेको छ ।यस सम्बन्धमा हुप्सेकोट गाउँपालिकाकि प्रमुख लक्ष्मीदेवी पाण्डेसँग जिग्यासा राख्दा उनले भनिन्-“केन्द्रमा रिपोर्टिङ गरेकि छु।पालिकाको बस्ती सार्ने क्षमता छैन।”

प्रकाशित : २०७८ वैशाख २० गते ९:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI