पश्चिम नवलपरासी : स्थानीय तहले बेवास्ता गर्दा संक्रमितको शव २ दिनदेखि शव गृहमै

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २२ गते १७:३२
पश्चिम नवलपरासी : स्थानीय तहले बेवास्ता गर्दा संक्रमितको शव २ दिनदेखि शव गृहमै

परासी : कोरोना संक्रमणले मृत्यु भएकी पश्चिम नवलपरासी रामग्राम नगरपालिका–४ की ४५ वर्षीया महिलाको २ दिनदेखि शव व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले व्यवस्थापनमा ढिलाइ गर्दा शव अस्पतालको शव गृहमा राखिएको हो ।

‘हामीले मृत्यु हुने वित्तिकै शव व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई जानकारी दिने गरेका छौं । अन्यले तत्कालै लगेका छन् । रामग्रामले भने अहिलेसम्म नलैजाँदा २ दिनदेखि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ , ‘ पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले भने।

शव व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेकाले ढिलाइ भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए । नगरपालिकाले वडा नं.४,५ र ६ का लागि झरही खोला र वडा नं. १, २ र ३ का लागि वडा नं. १ मा जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

तर उक्त शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले विरोध गरेकाले समस्या आएको पन्थीको भनाई छ । १८ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडाहरुका लागि जग्गा व्यवस्थापन गरेपनि अन्य वडाका लागि भने जग्गाको खोजी गर्न नसकिएको पन्थीको भनाइ छ । नगरपालिका क्षेत्रमा दैनिकजसो संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ।

पछिल्लो पटक जिल्लामा कोरोनाको संक्रमण भयावह बन्दै गएको छ । वैशाख पहिलो सातादेखि बुधबारसम्म जिल्लामा संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए ।

प्रकाशित : २०७८ वैशाख २२ गते १७:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI