राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै, एमाले उम्मेद्वारको छैन टुंगो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २४ गते ८:२६
राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै, एमाले उम्मेद्वारको छैन टुंगो

काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले (शुक्रबार) बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको छ ।

उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँनेछ । माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन् । एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन । देवकोटालाई एमालेको माधव नेपाल पक्षको समेत समर्थन रहेको बताइन्छ ।

वाग्मती र लुम्बिनीमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रामबहादुर थापा र चन्द्रबहादुर खड्काले दल त्याग गरेपछि रिक्त भएको ती पदमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नका लागि कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ११ अनुसार उम्मेदवार बन्न संघीय कानूनले अयोग्य नभएको तथा लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।

उम्मेदवार बन्न एकजना प्रस्तावक र एकजना समर्थक अनिवार्य हुनुपर्नेछ । उम्मेदवारले धरौटीवापत १० हजार रुपैयाँ शुल्क समेत बुझाउनुपर्नेछ ।

प्रकाशित : २०७८ वैशाख २४ गते ८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI