नेपाल निर्णायक

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २५ गते ७:४४
नेपाल निर्णायक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ । संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने एमालेका नेता माधवकुमार नेपालपक्षीय नेताहरूले तय गर्ने रणनीतिमा भर पर्ने देखिएको छ ।

नेपाल र उनीपक्षीय नेताहरूसँग केही दिनयता एमालेकै ओली पक्ष, नेपाली कांग्रेस र माओवादीले व्यापक संवाद गरिरहेका छन् । ओली र नेपाल पक्षका केही नेताबीच संवाद भइरहँदा स्वयं नेपाल भने कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग आगामी योजनाबारे छलफलमा थिए ।

नेपाल स्वयंले ओलीसँग भन्दा कांग्रेस–माओवादीसँगको सहकार्य सजिलो हुने निष्कर्ष निकालेकाले उनको मन अरू दलहरूसँगै गठबन्धन गर्नेतिर सोझिएको छ । दोस्रो पुस्ताका नेताहरू सकेसम्म एमाले नै मिलाउनुपर्छ भन्ने छलफलमा छन् । अब विश्वासको मत लिन तयार ओली या अविश्वासको प्रस्ताव दर्ता गर्न ठिक्क परेका कांग्रेस सभापति शेरबहादुर देउवा कसको पल्ला भारी हुन्छ नेपाल समूहले गर्ने निर्णयमा भर पर्ने देखिएको छ । सबैतिर समानान्तर संवाद गरिरहेको नेपाल पक्ष भने कुन बाटो रोज्ने भन्ने निर्णयमा पुगिसकेको छैन । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७८ वैशाख २५ गते ७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI