कोभिड नेपालः कोरोनाभाइरस सङ्क्रमण भएर घरमै बसेका मानिसलाई स्थानीय तहले गर्नुपर्ने चार काम

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २५ गते १३:३६
कोभिड नेपालः कोरोनाभाइरस सङ्क्रमण भएर घरमै बसेका मानिसलाई स्थानीय तहले गर्नुपर्ने चार काम

देशभर कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहँदा स्थानीय तहले सामान्य काम गरिदिँदा महामारीको स्थितिलाई नियन्त्रण गर्न सकिने विज्ञ चिकित्सकहरूले बताएका छन्।

अस्पतालमा भर्ना भएका सङ्क्रमितभन्दा घरमै बसेका सङ्क्रमितको स्वास्थ्य स्थितिका बारेमा नियमित जानकारी राखेर स्थानीय तहले सामान्य काम गरिदिँदा स्थिति सहज हुने उनीहरूको भनाइ छ।

घरमै बसेका सङ्क्रमितका लागि सामान्य व्यवस्थापनका काम स्थानीय तहले गरिदिए अस्पतालमा सङ्क्रमितको चाप नबढ्ने सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन्।

डा. बास्तोला भन्छन्, “सबै स्थानीय तहले हामीले जस्तै काम गरिदिनु पर्छ भन्ने होइन। तर सङ्क्रमितको सामान्य व्यवस्थापनका काम गरिदिए हामीलाई अस्पतालमा कम चाप हुन्थ्यो ।

स्थानीय सरकारले गर्नसक्ने काम के-के हुन्?

घरमै बसेका सङ्क्रमितको उपचार तथा व्यवस्थापनका लागि स्थानीय तहले चार काम गर्नसक्ने डा. बास्तोलाको भनाइ छ।

स्थानीय तहका स्वास्थ्य शाखामा कर्मचारी थपेर भए पनि ती काम गर्न जरुरी रहेको उनले बताए।

के हुन् त ती चार कामहरू?

१. सही तथ्याङ्क र जानकारी राख्ने

सङ्क्रमितको सही तथ्याङ्क राख्ने र सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनु पर्ने डा. बास्तोला बताउँछन्।

उनले भने, “अहिले साँच्चै भन्ने हो भने अलिकति अप्ठ्यारो पर्दा हामीलाई फोन आउँछ। कुदेर अस्पताल आउँछन्। यहाँ राम्ररी हेर्दा केही भएको हुँदैन।”

“आफ्ना क्षेत्रमा कति सङ्क्रमित छन् र उनीहरूको अवस्था के छ भन्ने कुरा स्थानीय तहका स्वास्थ्य शाखा हेरिदिए हामीले अस्पतालमा चाप भोग्नुपर्ने थिएन।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,दोस्रोपटक कोरोना सङ्क्रमण भइरहँदा पनि बिरामीको उपचारमा खटिएकी नर्स

२. अक्सिजन हेर्ने र एक्सरेको व्यवस्था

सङ्क्रमितको अक्सिजन लेबल हेर्ने र लक्षणसहितका सङ्क्रमितको छातीको एक्स-रे गर्ने व्यवस्था मिलाउनु पर्ने विज्ञले बताए।

कोरोना भाइरसका सबै सङ्क्रमितमा सङ्क्रमणका लक्षण नदेखिने तर लक्षण देखिएका धेरैमा छ दिनदेखि १० मा निमोनिया भएका बिरामी भेटिएका जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बताए।

डा. पाण्डेले भने, “घरमै बसेका लक्षणसहितका सङ्क्रमितहरूको कम्तीमा एक सातामा छातीको एक्स-रे गरिदिने व्यवस्था मिलाए जटिलता आउनसक्ने बिरामीलाई अस्पताल पुर्‍याउन सहज हुने थियो।”

सङ्क्रामक रोग विशेषज्ञ डा. बास्तोलाले अक्सिजन लेबल हेरेर लेबल कम भएका, लगातार खोकी लागेका, श्वास फेर्न गाह्रो भइरहेका र ज्वरो आइरहेका बिरामीको छातीको एक्स-रे गर्ने व्यवस्था अनिवार्य मिलाउनु पर्ने बताउँछन्।

Presentational white space

३. अस्पताल पुर्‍याउने व्यवस्था

सङ्क्रमण भएर घरमै बसेका कतिपय बिरामीको अस्पताल नगई मृत्यु भएका विवरण आइरहेका छन्।

त्यस्तो अवस्थामा जटिल किसिमका लक्षण भएका सङ्क्रमितलाई अस्पताल पुर्‍याउनका लागि स्थानीय तहले व्यवस्था मिलाइदिए उपचारमा सहजता आउने चिकित्सक तथा जनस्वास्थ्यविद् बताउँछन्।

जनस्वास्थ्यविद् डा. पाण्डेका अनुसार वडा कार्यालय तथा स्थानीय तहका स्वास्थ्य शाखाले यतिको व्यवस्था मिलाउन सहयोग भए सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु पर्ने अवस्था घटेर जान्छ।

४. हिँडडुल अनुगमन गर्ने

घरमै बसेका कोरोनाभाइरस सङ्क्रमितहरू अनुगमन गर्न स्थानीय तहले ध्यान नदिएको गुनासा आइरहँदा उनीहरूको हिँडडुलको अनुगमन अहिले झन् अपरिहार्य भएको चिकित्सकले बताएका छन्।

डा. बास्तोलाका अनुसार त्यस्ता सङ्क्रमित घर बाहिर निस्किए सङ्क्रमणले झन् गति लिने भएकाले त्यसप्रति स्थानीय सरकार सजग हुनुपर्छ।

उनले भने, “अहिले त झन् घरमा एक जनालाई सङ्क्रमण हुँदा परिवारका धेरै सदस्यलाई सङ्क्रमण सरेको पाइरहेका छौँ। झन् उनीहरू घर बाहिर गए के होला?”

जनशक्ति र स्रोतसाधन छैन: स्थानीय तह

चिकित्सक तथा जनस्वास्थ्यविदहरूले अहिलेको महामारीको अवस्थामा स्थानीय सरकारले गर्ने कामका बारेमा आग्रह गरिरहँदा धेरै स्थानीय तहका पदाधिकारीले आफूहरूका स्थानीय तहमा चाहिएको स्रोतसाधन नभएको बताउने गरेका छन्।

स्थानीय तहका जनप्रतिनिधिका अनुसार सङ्क्रमणको महामारीमा खटिने किसिमका तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावमा स्थानीय तहले काम गर्नु परिरहेको छ।

सुनसरीको इनरुवा नगरपालिकाकी उपप्रमुख जमुनादेवी गौतम पोखरेलले अन्य काम गर्न सकिने भए पनि सङ्क्रमितको छातीको एक्स-रे गर्नका लागि जनशक्ति नभएको बताइन्।

उनले भनिन्, “यो बेला स्थानीय तहको मुख्य भूमिका हुनेमा दुईमत छैन। हामीकहाँ दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन्। सङ्क्रमितको एक्स-रे गर्ने व्यवस्था मिलाउन चाहिँ गाह्रो छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,‘छोटो समयमा धेरै शव व्यवस्थापन निकै चुनौतीपूर्ण’: नेपाली सेना

‘क्षमताले भ्याएसम्म काम’

कतिपय स्थानीय तहले क्षमताले भ्याएसम्म महामारी नियन्त्रणका लागि काम गरिरहेको बताएका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले चिकित्सकले सुझाए बमोजिम सङ्क्रमितको व्यवस्थापनका लागि ध्यान दिइरहेको बताए।

उनले भने, “घरमा बसेकाहरूको अनुगमन गरिरहेका छौँ। आवश्यक परेको खण्ड उनीहरूको छातीको एक्स-रे गर्ने, अस्पताल पठाउने र अनुगमन गर्ने काम गरिरहेका छौँ।”

कन्ट्याक्ट ट्रेसिङ बढाउन आग्रह

सङ्क्रमणको शुरुआती बेलामा स्थानीय तहहरूले एक स्थानमा सङ्क्रमित भेटिए उसका वरपरका धेरैलाई पीसीआर परीक्षणका लागि स्वाब नमुना प्रयोगशालामा पठाउने गरेका थिए।

अहिलेको सङ्क्रमणको दोस्रो लहर चलिरहँदा सो प्रक्रिया धेरै स्थानीय तहले चलाएको पाइँदैन। केही स्थानीय तहले सङ्क्रमणको लक्षण भएकाहरूलाई एन्टिजन परीक्षण भने गर्ने गरेका छन्।

बुधवार स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेर सङ्क्रमणको जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ बढाउनका लागि स्थानीय तहलाई आग्रह गरेको छ।

सङ्क्रमितले आफूखुसी औषधि सेवन गर्न थालेको पाइएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि प्रयोग गर्न पनि मन्त्रालयले सूचना जारी गरेको छ।

प्रकाशित : २०७८ वैशाख २५ गते १३:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI