अक्सिजन सकिएपछि काठमाडौं लैजान १० लाख तिरेर हेलिकोप्टर मगाए, हेलिकोप्टरमै गयो ज्यान

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २६ गते ७:४५
अक्सिजन सकिएपछि काठमाडौं लैजान १० लाख तिरेर हेलिकोप्टर मगाए, हेलिकोप्टरमै गयो ज्यान

परिवारको दाबी: हेलिकोप्टर कम्पनीको गम्भीर लापरवाही

 

काठमाडौं– कैलालीको धनगढी, हसनपुरका ४५ वर्षीय राजु श्रेष्ठलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा केही कठिनाइ भएपछि चार दिनअघि उनलाई त्यहाँस्थित नवजीवन अस्पताल भर्ना गरियो।

 

तर, अस्पतालमा अक्सिजन अभाव हुनथाल्यो। अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्नू भनेपछि आफन्तले दुई दिनसम्म जसोतसो जोहो गरे। तर, थप अक्सिजन व्यवस्था गर्न कठिन हुने भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोभिड अस्पताल लैजाने निधो गरे।

 

‘कोभिड अस्पतालमा अक्सिजन आपूर्ति सहज होला भनेर शुक्रबार हामीले नवजीवनबाट निकालेर सेतीमा भर्ना गर्‍यौं’, राजुका भतिजा बाबुराजा श्रेष्ठले भने।

 

तर, सेतीमा पनि शुक्रबारदेखि नै अक्सिजन अभाव शुरु भइसकेको थियो। एकातिर अक्सिजनको अभाव, अर्कोतर्फ गम्भीर भएमा आइसीयू र भेन्टिलेटर सपोर्टको सुविधा उपलब्ध हुने सम्भावना नदेखेपछि परिवारले उनलाई काठमाडौं लैजाने निधो गरे।

काठमाडौं लैजान सजिलो थिएन। अनेक प्रयासपछि सर्वोच्च अदालतका एकजना वरिष्ठ न्यायाधीशको पहलमा सिम्रिक एयरको हेलिकोप्टर धनगढी आउन तयार भयो। त्यसका लागि परिवारले १० लाख रुपैयाँ तिरे। र, शनिबार बिहान ११ बजे धनगढीस्थित कभर्ड हलमा अवतरण गरेको हेलिकोप्टर उनलाई बोकेर काठमाडौं उड्यो। तर, काठमाडौं पुग्दा उनको मृत्यु भइसकेको थियो।

 

‘अस्पतालबाट अंकल एम्बुलेन्समा कभर्ड हलको मैदानसम्म पुगेपछि आफै हिँडेर हेलिकोप्टर चढ्नुभएको थियो’, बाबुराजाले भने, ‘हेलिकोप्टरमा एक्कासि मृत्यु भइहाल्ने अवस्था बिरामीको थिएन, हामी पत्याउन सकिरहेका छैनौं।’

काठमाडौं उड्नुअघि धनगढीस्थित कभर्ड हलमा हेलिकोप्टर चढ्ने क्रममा राजु श्रेष्ठ। उनी एम्बुलेन्सबाट झरेपछि आफै हिँडेर हेलिकोप्टर चढेका थिए। तस्वीर सौजन्यः बाबुराजा श्रेष्ठ

उनले हेलिकोप्टरमा दुईवटा अक्सिजन सिलिण्डर रहेको, एउटा प्रयोगमा रहेको अक्सिजन सिलिण्डरसहित बिरामीलाई हेलिकोप्टर चढाइएको र तीनवटा सिलिण्डर हुँदाहुँदै पनि गम्भीर अवस्था नभएका बिरामीको अकस्मात मृत्यु हुनु शंकास्पद रहेको बताए। ‘कम्पनीले उहाँ बित्नुभो, हामीले कपन (चुनिखेल)को करुणा अस्पतालमा झारेका छौं भनेर खबर गर्‍यो’, उनले भने, ‘त्यसबाहेक अरु केही जानकारी छैन।’

बीएण्डबी पठाएका बिरामीलाई कपन पुर्‍याइयो
बाबुराजाले ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा कुरा गरेपछि हेलिकोप्टरको व्यवस्था गरिएको र बीएण्डबीमै लैजाने भनेर हेलिकोप्टर चढाइएको बताए।

तर, सिम्रिक एयरको हेलिकोप्टरले उनलाई बीएण्डबी नभई कपनको करुणा अस्पताल पुर्‍यायो।

सिम्रिकको हेलिकोप्टरका अपरेशन डाइरेक्टर सिद्धार्थ गुरुंगले धनगढीबाट उड्दा बिरामीको कन्डिसन राम्रो रहेको र अक्सिजन लेबल पनि राम्रो भएको खबर आफूहरुले पाएको तर यस्तो कसरी भयो भन्नेबारे अहिले केही टिप्पणी नगर्ने बताए। ‘धनगढीबाट काठमाडौंको उडान २ घण्टा १५ मिनेटको हो। काठमाडौं पुग्नेबेला अलि गाह्रो भएपछि सपोर्ट राम्रो हुन्छ भनेर करुणा अस्पतालमा बिरामी झारिएको हो’, उनले भने, ‘डाक्टरहरुसँग कुरा गरेका छौं। कोभिडका बिरामीको अवस्था कतिखेर के हुन्छ भन्न सकिन्न। यसबारे विस्तृतमा हामी पछि भन्छौं।’

हेलिकोप्टर कम्पनीले काठमाडौंमा रहेका बिरामीका अन्य आफन्तलाई भने चिन्ताजनक अवस्था भएपछि बीएण्डबी नलगी करुणा अस्पताल लगिएको जवाफ दिएको छ। तर, सिम्रिक हेलिकोप्टर कम्पनीका अपरेशन विभागकै एक कर्मचारीले हेलिकोप्टरमै बिरामीको मृत्यु भइसकेको दाबी गरे। उनले भने, ‘धेरै कुरा हामीले बोल्न मिल्दैन, हाम्रैतर्फबाट कमजोरी भएको देखिन्छ। हेलिकोप्टरमै बिरामी बितिसकेको देखिन्छ।’

काठमाडौंमा रहेका बिरामीका आफन्त रमण श्रेष्ठले करुणा अस्पतालका डाक्टरहरुले अस्पताल आइपुग्दा केही पल्स छ कि जस्तो लागेर प्रयास गरेको तर नसकिएको जवाफ दिएको बताए। ‘अवस्था क्रिटिकल नै थियो भने पनि बीएण्डबीमा ल्याउने भनिएको बिरामीलाई किन करुणा अस्पताल पुर्‍याइयो भन्ने पूरै शंकास्पद छ’, उनले भने, ‘हेलिकोप्टरमै बिरामीको मृत्यु भएको देखिन्छ। अक्सिजन लेबल पनि मिलाउन नजान्ने टिम थियो या किन हो, यसमा ठूलो हेलचेक्र्याईं छ। हामीले पोस्टमार्टम गरिनुपर्छ भन्ने माग गरेका छौं।’ उनले धनगढी पुगेको हेलिकोप्टरसहितको टिमले त्यहाँका डाक्टरसँग बिरामीको अवस्थाबारे कन्सल्ट नै नगरी बिरामी बोकेर ल्याएकोसमेत बताए।

‘हेलिकोप्टरमा रेस्क्यू गर्ने बिरामीका लागि डाक्टरको टिम महत्वपूर्ण हुन्छ, तर त्यो टिम नै गतिलो थिएन भन्ने देखिएको छ’, उनले भने, ‘हेलिकोप्टरमा उचाइमा पुग्दा अक्सिजन फ्लो मिलाउन नजानेर बिरामीको ज्यान गयो भन्ने हाम्रो आशंका छ। यसको छानविन हुनुपर्छ।’

swasthyakhabar.com बाट 

प्रकाशित : २०७८ वैशाख २६ गते ७:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI