सगरमाथाको शिखरमा चीनले ‘विभाजनको रेखा’ कोर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २७ गते ११:१२
सगरमाथाको शिखरमा चीनले ‘विभाजनको रेखा’ कोर्दै

काठमाडौं। चीनले सगरमाथाको शिखरमा विभाजनको रेखा अर्थात लाइन अफ सेपरेसन कोर्ने भएको छ । नेपालमा कोरोनाभाइरस संक्रमणका केसहरु बढिरहेको र ठूलो संख्यामा पर्वतारोहीहरु समेत संक्रमित पाइएपछि चीनले नेपालतर्फबाट शिखरमा गएका आरोहीहरु चीनतर्फबाट शिखरमा पुगेका आरोहीहरुसँग नमिसिउन् भनेर यो रेखा कोर्न लागेको हो । पूर्वसावधानी स्वरुप चीनले यस्तो सावधानी अपनाउन लागेको चीनको सरकारी मिडियाले आइतबार बताएको समाचार एजेन्सी रोयटर्सले लेखेको छ ।

नेपालतर्फको सगरमाथा बेस क्याम्पमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण देखिएको छ । नेपालले अप्रिलमा सुरु गरेको पर्वतारोहणको सिजन अझैसम्म रद्द गरेको छैन । यो सिजन जूनको सुरुवातसम्म चल्छ । अहिलेसम्म यो रेखा शिखरमा कसरी लागू गराइन्छ भन्ने स्पष्ट छैन । किनकि सगरमाथाको शिखर एउटा डाइनिङ टेबलजत्रो सानो र खतरनाक क्षेत्र छ । तिब्बतका आरोही गाइडहरुको एउटा सानो टिमले सगरमाथा आरोहण गर्ने र शिखरमा विभाजनको रेखा कोर्ने बताइएको छ ।

सिन्ह्वाका अनुसार २१ चिनियाँ आरोहीहरुको टिम शिखरतर्फ गइरहेको छ । यी आरोहीहरु शिखरमा पुग्नुभन्दा पहिल्यै गाइडहरुले शिखरमा विभाजनको रेखा स्थापित गर्ने बताइएको छ तर सिन्ह्वाले यो रेखा कस्तो हुन्छ भन्ने स्पष्ट बताएको छैन । यी तिब्बती गाइडहरुले नै शिखरमा विभाजनको नियम लागू गराउनेछन् वा उनीहरु कथित डेथ जोनमा रहनेछन् भन्ने पनि स्पष्ट छैन । नेपालले यो सिजन पर्वतारोहण खुला गरेको भए पनि चीनले भने अघिल्लो वर्ष कोरोना महामारी सुरु भएदेखि नै विदेशी आरोहीका लागि सगरमाथा आरोहण बन्द गरेको छ ।

प्रकाशित : २०७८ वैशाख २७ गते ११:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI