गण्डकीमा को को बन्लान त मन्त्री ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ५ गते ९:४८
गण्डकीमा को को बन्लान त मन्त्री ?

पोखरा । होम आइसोलेसनमा रहेका बेला मुख्यमन्त्रीमा पुन नियुक्त भएर सपथ खाएका पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।

मन्त्रालयको दैनिक कार्यसञ्चालन समेत प्रभावित भएपछि उनले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । पछिल्लोपटक उनी वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आइसोलेसनमै रहेका कारण मन्त्रिमण्डल विस्तार रोकिएको थियो । बजेट निर्माणका बेला मन्त्रालयहरु खाली छन् । नीति तथा कार्यक्रम र प्रिबजेटका लागि पनि तयारी गर्ने बेला भइसक्यो । मन्त्रालयका कर्मचारीले आन्तरिक तयारी गरिरहे पनि मन्त्री नै नहुँदा बजेट भने पक्कै प्रभावित हुन्छ ।

संसदीय प्रणालीमा प्रधानमन्त्री वा मुख्यमन्त्रीले मन्त्रिपरिषदमार्फत् गर्ने निर्णय नै मान्य हुन्छ । तर यसका लागि क्याबिनेटमा कम्तीमा २ सदस्य चाहिन्छ । अहिले यो अवस्था पनि छैन । वैशाख २९ यता सबै मन्त्रालयको नेतृत्व मुख्यमन्त्रीसँगै छ । यही गाँठो फुकाउन पनि छरितो मन्त्रिमण्डल विस्तार हुन लागेको हो ।

यसका लागि मुख्यमन्त्रीले विघटित मन्त्रिपरिषदका २ सदस्य र पार्टीका मुख्य सचेतकसँग छलफल गरेका छन् । पूर्वमन्त्रीद्वय किरण गुरुङ, रामशरण बस्नेत र मुख्य सचेतक मायानाथ अधिकालाई निवासमै बोलाएर सरकार विस्तारका बारेमा छलफल गरेका हुन् ।

पहिलो चरणमा किरण र बस्नेत दोहोरिने पक्का छ । पोहोर नै आर्थिक वर्ष सकिएपछि मन्त्री फेरबदलको सोचमा थिए मुख्यमन्त्री । मन्त्री बनाउने बेला नै उनले साढे २ वर्षका लागि हो, त्यही अनुसार काम गर्न उनले निर्देशन नै दिएका थिए । कार्यसम्पादनका आधारमा मन्त्री फेरबदल गर्ने र कम्तीमा २ मन्त्रालय थप्ने सोचमा उनी रहे पनि पार्टीभित्रको किचलोका कारण उनको योजना साकार हुन पाए । उनले यसका बारेमा प्रधानमन्त्रीलाई पनि जानकारी गराइसकेका थिए । २ मन्त्रालय थप्दा माथिबाट २ जना सचिव मात्र पठाइदिए हुने र बाँकी कर्मचारी व्यवस्थापन प्रदेशबाटै गर्ने गरी उनले प्रधानमन्त्रीलाई आश्वस्त समेत पारिसकेका थिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र सामाजिक विकास मन्त्री नरदेवी पुनले पुनर्नियुक्ति पाउने नपाउने टुंगो छैन । कुन कुन सांसदलाई मन्त्री बनाउने, कतिवटा मन्त्रालय अहिले खाली राख्ने भन्ने बारेमा छलफल गर्नै मुख्यमन्त्रीले पूर्वमन्त्री र मुख्यसचेक उनका निवासै पुगेका हुन् । १० दिन मन्त्री भएका दीपक मनाङे दोहोरिन सक्ने पार्टी स्रोतले  जनाएको छ । स्वतन्त्र भए पनि पछिल्लो समय गठबन्धनका पक्षमा लाग्ने देखेपछि मुख्यमन्त्री गुरुङले उनलाई मन्त्री पद दिएर थमथमाएका थिए । सामाजिक विकास मन्त्रालय फोरेर उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

त्यसो त मन्त्री पद पाउनकै लागि अहिले मुख्यमन्त्री निवास धाउनेहरु बढेका छन् । मिडियामा आएका नाम र त्यसवाहेकका सांसदहरुको आउजाउ अहिले बाक्लिएको छ । विघटित मन्त्रीमण्डलमा कास्कीबाट एकजना पनि मन्त्री पनि थिएनन् । अहिले पनि कास्की खाली हुने देखिएको छ । राजीव पहारी अलि बढी नै आकांक्षी छन् । मुख्यमन्त्रीले उनलाई हुन्छ हुन्न भनेर केही प्रतिक्रिया दिएका छैनन् ।

वैशाख २९ को १ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसैलाई फोकसमा राखेर मुख्यमन्त्री गुरुङले सरकार विस्तार गर्ने पक्षमा छन् । अहिले फेरि सरकार टिकाउनका लागि मन्त्रालय थप्ने सम्भावना पनि नभएको होइन । तर त्यसका लागि साना दलको निर्णय निर्णायक हुन्छ । त्यसो त वैशाख २ मा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव वारपार गर्न पनि साना दलको भूमिका महत्वपूर्ण हुन्थ्यो । जनमोर्चाका सांसदले ढुलमुले नीति लिएका कारण परिस्थिति बदलिदियो । मुख्यमन्त्रीले वैशाख २६ मै राजीनामा दिए । जबकि २७ गते अविश्वासको प्रस्तावमाथि मतदानको कार्यक्रम थियो । उनले राजीनामा दिएपछि अविश्वास प्रस्ताव औचित्यहीन भयो र विषेश अधिवेशन अन्त्य भयो ।

जनमोर्चाका ३ सांसद जता ढल्किन्छन् उतैको पल्लाभारि हुने भए पनि पछिल्लो समय भने उक्त दलभित्र पनि विवाद देखिएको छ । सचेतक पियारी थापा प्रष्ट रुपमा गुरुङ सरकारको विपक्षमा छन् । कांग्रेसलाई कुनै हालतमा सहयोग गर्न नसक्ने बताएका सांसद कृष्ण थापा दलको नेताबाटै निकालिएका छन् । अर्का सांसद खीमविक्रम शाही पार्टीकै नीति अनुसार चल्ने बताए पनि उनका गतिविधि शंकास्पद छन् ।

बहुमत संख्याका लागि प्रष्ट अंकगणित नभएका कारण यो बीचको समय मुख्यमन्त्रीले आफ्नो पक्षमा संख्या पु¥याउन ठूलै मेहनत गर्नुपर्ने देखिएको छ ।

प्रकाशित : २०७८ जेठ ५ गते ९:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI