No ads found for this position

‘भूकम्पले निद्रामै थिच्यो’

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ६ गते ७:०४
No ads found for this position
‘भूकम्पले निद्रामै थिच्यो’
No ads found for this position

लमजुङ — मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु छिचुकी ४० वर्षीया उमा गुरुङ बेंसीसहर–६ चनौटेमा बस्छिन् । पालीमा सुतेकी उनी बुधबार बिहान साढे ५ बजेतिर उठिन् । त्यतिन्जेलसम्म सँगै सुतेकी कान्छी छोरी श्रीति मर्निङ वाक गइसकेकी थिइन् ।

‘अलि सन्चो थिएन । दिसापिसाब गरेर एकछिन पल्टिएकी थिएँ । कच्ची पुरानो घरको पर्खाल त झ्याम्मै आइहाल्यो, निद्रामै थिच्यो,’ उनले भनिन्, ‘एउटा हातले छेक्दा हात काटियो । टाउकोमा लाग्यो । हारगुहार गरेपछि खै कसले उठाएछ ।’

बेंसीसहर–११ रामचोकबेंसीकी ८४ वर्षीया खवकुमारी पाण्डे पनि सबैरै उठेकी थिइन् । ‘केके कराए जस्तो भएर सबै हल्लायो । कराउँदै बाहिर निस्के र भकारोतिर भागें,’ उनले भनिन्, ‘भाग्दाभाग्दै घर भत्किएर खुट्टा र टाउकोमै कुल्चियो । अनि त्यहीं ढलेछु ।’ बुधबार बिहान ५ बजेर ४२ मिनेटमा मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गयो । त्यतिबेला प्रायः सुतिरहेका थिए । निषेधाज्ञाका कारण ब्युँझिसकेका पनि घरभित्रै थिए । दोर्दी गाउँपालिका–७ लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङको घर भत्किँदा उनी पनि घाइते भइन् ।

एकैछिनको ठूलो झड्काका कारण भाग्ने क्रममा मर्स्याङ्दी–६ ठूलीबेंसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर–८ ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र शेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ पनि घाइते भएका छन् । अधिकारीको टाउकोमा चोट लागेकाले उपचारका लागि चितवन लगिएको छ । अरू सबै जिल्ला अस्पतालमा उपचार गरी घर फर्केका छन् । तामाङको भने स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको छ । परकम्पले स्थानीय दिनभर घरभित्र पस्न सकेनन् ।

बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान पहिलो झड्कादेखि साँझ ५ बजेसम्म २५ पटकभन्दा बढी परकम्प मापन गरिएको केन्द्रले बताएको छ । केन्द्रले लमजुङ भूकम्पलाई २०७२ वैशाख १२ गतेको भूकम्पको परकम्प भनेको छ ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पबाट पालिकाका ४० भन्दा बढी घरमा क्षति पुगेको बताए । ‘हामी राहतको कार्यक्रमका लागि समन्वय गरिरहेका छौं । तथ्यांक पनि लिइरहेका छौं,’ उनले भने । बेंसीसहर नगर प्रमुख गुमानसिंह अर्यालले नगरभित्रका एक सयभन्दा बढी घर पूर्ण रूपमा क्षति पुगेको बताए । ‘मर्स्याङ्दी केन्द्रबिन्दु भए पनि असर बेंसीसहरमा बढी परेको छ । अनुगमन गर्दा ४० घर भएको गाउँ (देउजनथोक) मा ३० घरमा क्षति पुगेको छ ।’

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार घाइतेको उद्धार गरी उपचार गराएको र जिल्लाभर २ सयभन्दा बढी घर क्षति भएको प्रारम्भिक जानकारी आएको बताए । उनका अनुसार क्षति पुगेका घर सबै कच्ची हुन् । घर भत्किएर विस्थापित परिवार अहिले अधिकांश छिमेकीकहाँ र केही त्रिपाल टाँगेर बसेका छन् ।-कान्तिपुर

प्रकाशित : २०७८ जेठ ६ गते ७:०४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI