साहित्यकार क्षेत्री दम्पतीद्वारा भरतपुर अस्पताललाई स्वास्थ सामाग्री सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ८ गते १८:४६
साहित्यकार क्षेत्री दम्पतीद्वारा भरतपुर अस्पताललाई स्वास्थ सामाग्री सहयोग

भरतपुर, ८ जेठ ।
कोरोना महामारीका बीचमा अस्पतालहरूमा देखिएको उपचार असहजतालाई सहज बनाउन सहयोगी हातहरू सक्रिय बनिरहेका समाचारहरू आइरहेका छन् । यसैक्रममा भरतपुर- ५ कैलाशनगर निवासी शैक्षिक एवम् साहित्यिक व्यक्तित्व एलबी क्षेत्री र उहाँकी धर्मपत्नी मीना लामिछानेले भरतपुर अस्पताललाई उपचारक्रममा प्रयोगमा आउने स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।

शनिबार एक समारोहबीच अस्पतालमै पुगेर क्षेत्री दम्पतिले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई १०० सेट पीपीइ, १५० थान फेस सिल्ड, १०० थान सर्जिकल तथा एन९५ मास्क र ग्लोभ्स् गरि करिब २ लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराएका हुन् ।

स्वास्थ्य सुरक्षा सम्बन्धि सामग्री ग्रहण गर्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले स्वतस्फूर्त रूपमा प्राप्त सहयोगले स्वास्थ्यकर्मीहरूलाई आफ्नो पेशामा थप जिम्मेवारी बन्न सहयोग पुगेको धारणा राखे । `कोरोना महामारीका कारण मुलुक आक्रान्त बनिरहेको छ । कैयौं कोरोना संक्रमित घरमै र अस्पतालमा उपचाररत छन्´ डाक्टर अधिकारीले भने- `महामारी भएकै कारण संक्रमितलाई उपचारमा सहजता छैन । स्वास्थ्यकर्मीलाई पनि उपचारक्रममा खटिन सजिलो छैन । यी र यस्तै खाले सहयोगले बिरामीको उपचारमा ठूलो टेवा पुग्नेछ ।´ डाक्टर अधिकारीले अस्पताल प्रशासनको तर्फबाट क्षेत्री परिवारलाई धन्यवाद पनि दिए ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले प्राप्त भएका यी सामग्रीलाई कोरोना संक्रमित बिरामीको तत्कालको उपचारमा उचित ठाउँमा प्रयोग गरिने बताए ।

सामग्री हस्तान्तरणपछि बोल्दै एलबी क्षेत्रीले लोककल्याणकारी कर्ममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । `समाचारहरूमा कोरोना भाइरस संक्रमित दाजुभाइ, दिदीबहिनीहरूले उपचारक्रममा सहजता नपाएको सुन्दा अत्यन्तै दु:ख लागेको थियो´ क्षेत्रीले अगाडि भने- `उहाँहरूकै उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा हामी सन्तुष्ट भएका छौँ ।´ क्षेत्री वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । उनी कविडाँडा साहित्य समाजका अध्यक्ष हुन् । क्षेत्री दम्पति पछिल्लो समय साहित्य सेवा सँगसँगै सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय छन् ।

सामग्री हस्तान्तरण समारोहलाई भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले सहजीकरण गरेका थिए । समारोहमा भरतपुर अस्पतालका प्रवक्ता डा. युवानिधि बसौला, डा.सुनिलमणि पोखरेल, डा.यदुनाथ शर्मालगायतको सहभागिता थियो ।

प्रकाशित : २०७८ जेठ ८ गते १८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI