प्रतिनिधिसभा विघटनविरुद्ध ३० मुद्धा दर्ता, पेशी जेठ १३ र १४ तोकियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ११ गते १७:१३
प्रतिनिधिसभा विघटनविरुद्ध ३० मुद्धा दर्ता, पेशी जेठ १३ र १४ तोकियो

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० रिटहरुको पेशी जेठ १३ र १४ गतेलाई तोकिएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।

संसद विघटन असंवैधानिक र धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

सोमबार उनीहरु १४६ जना सांसदहरु भौतिक रुपमै सर्वोच्चमा उपस्थित भएका थिए । संसद विघटन खारेज गर्न र प्रधानमन्त्रीमा विपक्षी दलको तर्फबाट नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई नियुक्त गर्न माग गरिएको छ ।

प्रकाशित : २०७८ जेठ ११ गते १७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI