प्रतिनिधिसभा विघटनको औचित्य प्रष्ट्याउन राष्ट्रका नाममा सम्बोधन

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १४ गते १७:००
प्रतिनिधिसभा विघटनको औचित्य प्रष्ट्याउन राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनको औचित्य प्रस्ट पार्ने प्रयत्न गरेका छन् । प्रतिनिधिसभा विघटन भएको करिब एक सातापछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । उनले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएकै दिन अदालतमा विचाराधीन विषयमाथि राज्य संयन्त्र प्रयोग गरी टिप्पणी गरेका हुन् ।

कोरोना महामारीले जनता प्रताडित रहेको, विभिन्न जिल्लामा लगाइएका निषेधाज्ञाले जनताको दैनिक जीवनमा असर गरिरहेको सन्दर्भमा ती विषयलाई उपेक्षा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अधिकांश समय आफ्नै राजनीतिक निर्णयको बचाउमा खर्चिएका हुन् ।

उनले कोरोनाबाट ठुला वा साना कुनै देश जोगिन नसकेको उल्लेख गर्दै उनले विकासशील देश अझ बढी प्रभावित भएको बताए ।

उनले कोरोना विरुद्धको खोपको असमान वितरण विश्वव्यापी बहसको विषय बनेको र कोभ्याक्स एलाइन्सको समग्र योजना नै धर्मराएको टिप्पणी गरे । खोपको असमान वितरणका सन्दर्भमा विकसित मुलुकले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्नुपर्ने उनको भनाइ थियो ।

लगत्तै उनले कोभिड महामारी र त्यसबाट सिर्जित समस्या, देखा परेका चुनौतीलाई पन्छाउँदै राजनीतिक घटनाक्रममा आफ्नो सम्बोधनलाई केन्द्रित गरे । उनले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, लोकतन्त्र सुदृढ गर्ने प्रयासमा पटक पटक अवरोध भएको आरोप लगाए ।

सीमित व्यक्तिका स्वार्थ र कुण्ठाका लागि संसदलाई प्रयोग गर्न खोजिएको आरोपसमेत उनले लगाए । उनले गत फागुन ११ मा संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि प्रतिनिधिसभालाई पूर्ण अवधि सञ्चालन गर्नेमा आफूहरुको ध्यान केन्द्रित रहे पनि दलहरूका कारण सफल हुन नसकेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि आफूले प्रतिनिधिसभामा प्रस्ताव पेश गरेको र प्रतिनिधिसभालाई पूर्ण कार्यकाल सञ्चालन गर्न र कामकाजी बनाउने उद्देश्यले नै आफूलाई विश्वासको मत दिन दलहरूलाई आग्रह गरेको पनि उनले प्रस्ट पारे । अन्यथा लोकतान्त्रिक अभ्यास र संसदीय मूल्य तथा मान्यता बमोजिम वैकल्पिक सरकार दिन आफूले आग्रह गरे पनि न आफूलाई विश्वासको मत दिइएको न त प्रतिनिधिसभाले अर्को विकल्प नै दिन नसकेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा नै अकर्मण्यतामा फसेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक अन्योलबाट सकेसम्म छिटो मुक्त गर्न आफूले प्रयास गरेको बताए ।

प्रकाशित : २०७८ जेठ १४ गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI