भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथी हातपात गर्ने विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा  दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १४ गते १७:१६
भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथी हातपात गर्ने विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा  दर्ता

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

गएराति दाङको तुलसीपुर ११ उरहरीका ५२ वर्षीय कोरोना संक्रमित विरामी डिल्ली बहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई हातपात गरेका थिए । घटना लगत्तै बाँके प्रहरीले राति नै तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जना मृतकका भाईहरु मानबहादुर बस्नेत, भरत रावत र छोरा लोकराज रावत विरुद्ध आज ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बाँकेका प्रहरी प्रवक्ता सुबास खड्काले बताउनुभयो ।

घटना लगत्तै राति नै सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी काम थालेको छ । आरोपीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि स्वास्थ्यकर्मीहरुले आन्दोलन स्थगित गरेका छन् ।

विरामीको मृत्युपछि उनका कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । डा. चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विनी गुरुङले आक्रमणबाट ज्यान जोगाउन पहिलो तलाबाट हाम फालेर भागेको बताएका छन् ।

मृतकका आफन्तले भने चिकित्सक र नर्सको लापरबाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । विरामीका आफन्तले आफूहरुले आक्रमण नगरेको जिकिर समेत गरेका छन् । स्वास्थ्यकर्मीले विरामीको मनोबल गिर्ने गरी व्यवहार गरेको, विरामीलाई फरक व्यवहार गर्ने गरेको, आइसियुमा बोल्दै गरेको विरामीलाई जबर्जस्ती भेन्टिलेटरमा सारेको आरोप विरामीका आफन्तहरुको छ ।

प्रकाशित : २०७८ जेठ १४ गते १७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI