कोभिड–१९ नियन्त्रणमा सबैपक्षको एकजुट हुन मानव अधिकार समूहको अपिल

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २३ गते ११:४०
कोभिड–१९ नियन्त्रणमा सबैपक्षको एकजुट हुन मानव अधिकार समूहको अपिल

चोरमरा, २३ जेठ । मानव अधिकार समुह कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले कोभिड–१९ को यो बिषम परिस्थितिमा सबैलाई हातेमालो गर्दै अगाडी बढ्न अपिल गरेको छ ।

आइतबार मानव अधिकार समुहका कावासोतीका अध्यक्ष द्रौपदी गुरौं र विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्म बहादुर जि.सी.ले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै कोभिड–१९ को कारण सबै क्षेत्र प्रभावित भएको अहिलेको अवस्थामा सबैपक्षको सहयोग, सक्रियता र सर्तकताले कोभिड–१९ लाई परस्त गर्न सकिने भन्दै सबैलाई हातेमालो गर्दै अगाडी बढ्न अपिल गर्नु भएको हो ।

मानव अधिकार समुह कावासोती नगरपालिकाका अध्यक्ष गुरौंले कावसोती नगरपालिका सदरमुकामको पालिकाको भएको कारण हाल छुट्टै आइसोलेशन व्यवस्थापन नभएपनि कावासाती–१३ सहितका केही वडामा स्थानीयको पहलमा आइसोलेशन समेत निमार्ण हुनु स्वागत योग्य कार्य भएको बताउनुभयो ।

मानव अधिकार समुह विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष जिसीले कोभिड–१९ को दोस्रो लहर शुरु भएसंगै संक्रमितको उपचारको लागि आइसोलेशनको व्यवस्थापन, अक्सिजनको आपूर्ति, एम्बुलेन्सको व्यवस्थापनमा गाउँपालिकाले खेलेको भूमिका उदारणिय रहेको भन्दै विनयी त्रिवेणीको दक्षिणमा रहेका ६ र ७ नम्बर वडाका स्थानीयलाई स्वास्थ्य उपचारको प्रवन्ध मिलाउन सबै पक्ष एकवद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँहरुले जारी गर्नु भएको विज्ञप्तीमा अन्य स्थानमा जस्तै कोभिड–१९ संक्रमितको संख्याको तुलनामा आइसोलेशन वेडको संख्या, होम आइसोलेशनमा बसेकाहरुको उपचारमा पालिकाको प्राथमिकता लगायतका केही सवालहरुमा गाउँपालिका सहित सबै सरोकारवाला निकायहरुको ध्यान पुग्न जरुरी रहेको उल्लेख गर्नु भएको छ । संक्रमितहरुको आकस्मिक उपचारको प्रवन्ध लगायतका विषयमा सबै पक्ष थप गम्भीर बन्न जरुरी रहेको विज्ञप्तीमा उल्लेख छ ।

कोभिड–१९ संक्रमणको समयमा स्थानीय तहहरुले खेलेको भूमिकाको समेत उहाँहरुले प्रसंशा गर्नु भएको छ । साथै विज्ञप्तीमा कोभिड–१९ को कारण प्रभावित शिक्षा, स्वास्थ्य, खाद्य लगायतका सवालमा समेत सबै पक्षको ध्यान पुग्न आवश्यक रहेको भन्दै ध्यानाकर्षण समेत गराउनु भएको छ । यो महामारीको कारण रोजगारी गुमाएका विपन्न परिवारहरुको लागि दैनिक खाद्यन्नको व्यवस्थापन, बन्द रहेका शैक्षिक गतिविधि, सबै जनताको आकस्मिक सहित सबै स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न तर्फ गाउँपालिका, जनप्रतिनिधि, सरोकारवाला सहित सबैको ध्यान पुग्न आवश्यक रहेको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित : २०७८ जेठ २३ गते ११:४०
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI