कांग्रेसका सात युवा नेताको सभापतिलाई प्रस्तावः वैकल्पिक प्रक्रियाबाट महाधिवेशनमा जाऔं

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २५ गते १९:२८
कांग्रेसका सात युवा नेताको सभापतिलाई प्रस्तावः वैकल्पिक प्रक्रियाबाट महाधिवेशनमा जाऔं

काठमाडौं । नेपाली कांग्रेसका सात जना युवा नेताले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको १४औं महाधिवेशन तोकिएकै समयमा गर्नुको विकल्प नभएको भन्दै प्रक्रियामा विकल्प खोज्न आग्रह गरेका छन् ।

कोरोना महामारीका कारण महाधिवेशन अन्योल बन्न पुगेको भन्दै कांग्रेसका युवा नेताहरु मंगलबार सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

भेटमा युवा नेताहरुले महाधिवेशनका लागि राखिएको समयको अन्तरलाई घटाएर र कोरोना महामारीका लागि तय गरिएको सुरक्षा मापदण्ड अपनाएर महाधिवेशन गर्ने वातावरण बनाउन सभापति देउवालाई आग्रह गरेका हुन् ।

भेटमा सहभागी नेता प्रदिप पौडेलले महाधिवेशनका विषयमा अन्योलतापूणर् अवस्था देखिएको भन्दै सभापतिलाई ध्यानाकर्षण गराइएको जानकारी दिए ।

‘हामीले महाधिवेशन अन्योल भयो, कोरोना महामारीकै बीच प्रक्रियामा विकल्प खोजेर पनि महाधिवेशन गरौं भनेर भनेका छौं, सभापति ज्यूले पदाधिकारी बैठक बोलाएर छलफल गर्छु भन्नुभयो,’ नेता पौडेलले हाम्राकुरासँग भने ।

नेता धनराज गुरुङले संविधानले दिएको व्यवस्थासमेत पार्टीले उपयोग गरिसकेकाले अब १४औं महाधिवेशन फेरी सार्न सकिने अवस्था नरहेको बताए । उनले वैकल्पिक प्रक्रिया अपनाएर पनि महामारीकै बीच महाधिवेशन गर्न सकिनेतर्फ सभापतिलाई ध्यानाकर्षण गराइएको जानकारी दिए ।

अब फेरी महाधिवेशन धकेल्न सकिन्न, प्रक्रियामा विकल्प खोजौं, वडामा एक बुथका ठाउँमा १० बुथ राखौं, जिल्ला जिल्लामा नै केन्द्र तहका उम्मेदवारलाई मत हाल्ने गरेर व्यवस्था मिलाऔं भन्ने हाम्रो प्रस्ताव हो, यही विषय सभापति समक्ष राख्यौं,’ नेता गुरुङले भने ।

सात युवा नेताको संयुक्त प्रस्तावमा सचापति देउवा पनि सकरात्मक देखिएका छन् । उनले पदाधिकारी बैठक बोलाएर त्यसबारे आवश्यक निर्णय गर्ने भनेका छन् ।

युवा नेताहरुले क्रियाशिल सदस्यता सम्वन्धि विषयलाई जतिछिटो टुंगाउन, पूर्वनिर्धारित कार्यतालिकालाई अन्तिम पटक संसोधन गर्न र यसरी संसोधन गर्दा पार्टीको निर्णयमा नै सबै कुरा टुंगाउन आग्रह गरेका छन् ।

सभापति देउवालाई भेट्न कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार, बद्री पाण्डे लगायतका नेताहरु सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए ।

कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन क्यालेण्डर अनुसार ५ असारमा वडा, ७ असारमा गाउँ(नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन निर्धारित छ ।  यसैगरी १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइएको छ ।

प्रकाशित : २०७८ जेठ २५ गते १९:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI