प्रधानमन्त्री र महन्त ठाकुरको लगनगाँठोलाई के भन्ने ? : पोखरेल

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २७ गते १५:१६
प्रधानमन्त्री र महन्त ठाकुरको लगनगाँठोलाई के भन्ने ? : पोखरेल

गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री र महन्त ठाकुरको लगनगाँठोलाई के भन्ने ?  भनेर प्रश्न गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बसेको प्रदेशसभामा बोल्दै पोखरेलले हिजोको ऐतिहाँसिक जनआन्दोलन मार्फत लोकतन्त्र स्थापना गर्ने आन्दोलनमा सहयात्रा गरेका दलहरुका बीचमा सहकार्य हुँदै गर्दा अन्यथा मान्ने सत्तापक्षले प्रधानमन्त्री र महन्त ठाकुरको लगनगाँठोलाई के भन्ने ?  भनेर प्रश्न गरेका हुन् । आफुलाई सहि लागे सुन नलागे फलाम हुने भन्ने मान्यता नराख्न उनले एमालेलाई आग्रह गरेका छन् ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्तिको सजाय प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोग्ने अवस्था आएको टिप्पणी भएपछि पोखरेलले प्रधानमन्त्री ओलीले गल्ती गर्ने हाम्रो मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सजाय किन पाउने भन्ने सत्तारुढ दलको प्रश्न केही हदसम्म सहि रहेको बताए ।

केन्द्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमका कारण विपक्षीहरुले मोर्चा कस्नु परेको उनले स्पष्ट पारेका छन् । केन्द्रकै सिको प्रदेशका मुख्यमन्त्री गुरुङले पनि प्रदेशमा गरेको उनको आरोप छ । यद्यपी हाउसबाट भागेका मुख्यमन्त्रीलाई फेरी हाउसमा ल्याउने काम भएको भन्दै उनले खुशी प्रकट गरे ।

अघिल्लो पटक आफूहरुले अविश्वासको ल्याउँदा मुख्यमन्त्री राजिनामा दिएर भागेको र संविधान विपरित धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनलाई बेवास्ता गर्दै प्रदेश प्रमुखले ठूलो दलको हैसियतले पुन मुख्यमन्त्री न्युक्त गर्नेकाम भएको उनले बताए ।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहे उपलब्धि र लोकतन्त्र रहने तर, आफू नरहे केही पनि नरहने शैलीले अगाडि बढेको बताए । कम्युनिष्ट प्रधानमन्त्रीको हातबाट दुईपटक संसद विघटन हुनु लोकतान्त्रिक आन्दोलनमा कालो धब्बा रहेको टिप्पणी गरे । आफूलाई लोकतान्त्रिक भन्नेहरुले यो कालो धब्बा पखाल्न नसक्ने उनको टिपपणी छ । मुल नै धमिलिएपछि त्यो तलसम्म बेहोर्नु नै पर्ने उनको भनाई छ । गलत कुराको समर्थन नगरेको भए मुख्यमन्त्री गुरुङको विपक्षमा आफूहरु जान पर्ने थिएन भनेका छन् । उनले केन्द्रमा प्रतिनिधिसभा भंग गरेजस्तै प्रदेश संसदपनि भंग गर्ने खतरा औल्याए ।

जारी प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक मायाँनाथ अधिकारीले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य काम गरेको र काम गरेकामा जस दिन आग्रह गरे । केन्द्र सरकारका प्रधानमन्त्रीलाई गालीगरेर प्रदेशका मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार नढाल्न उनले आग्रह गरेका छन् ।

जनता समाजवादीका संसदीय दलका नेता हरिशरण आचार्य दुई पटक संविधानलाई कुल्चिएर शासन गर्न खोजिँदा त्यसलाई ठिक भन्नेलाई आफूहरुले समर्थन गर्न नसक्ने बताए । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने हिम्मत गरेर लोकतन्त्रप्रति केही प्रतिवद्धता जनाएको आभास दिएको टिप्पणी गरे ।

उनले यस अगाडि नै बहुमत सहित विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्नेमा जालझेल गरिएको बताए । अहिले विरालो बाँधेर श्राद्ध गरेजस्तो विश्वासको मत लिन जरुरी नरहेको उनको टिप्पणी छ । राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले भात पाक्यो कि पाकेन भनेर सबै सीता छाम्न जरुरी नरहेको बताइन् । केन्द्रमा प्रतिगमनकारी सरकारको समर्थन गर्ने मुख्यमन्त्रीलाई अफूहरुको साथ नहुने उनको भनाई थियो । प्रदेशसभामा केही बेरमा मत विभाजन गरिँदैछ ।

प्रकाशित : २०७८ जेठ २७ गते १५:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI