No ads found for this position

युरोकप आजदेखि, यस्ता छन् उपाधि दाबेदार टिम

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २८ गते ७:४४
No ads found for this position
युरोकप आजदेखि, यस्ता छन् उपाधि दाबेदार टिम
No ads found for this position

काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ ।

मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन । त्यसैले पनि यसपटक युरोकप प्रतिस्पर्धात्मक हुन सक्छ ।

युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उदघाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ भने जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ ।

उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड पनि यस पटक खेल्दैछन् ।

सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारको रुपमा छन् । साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारको रुपमा छन् । यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन् ।

पूर्व च्याम्पियनमध्ये डेनमार्क, रसिया र चेक रिपब्लिकलाई उपाधि दाबेदारको रुपमा हेरिएको छैन । डेनमार्क र नेदरल्याण्ड्स २०१६ मा छनोट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन् ।

यसबाहेक सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा अप्रत्यासितरुपमा फाइदा पुगेको क्रोएसियाले पनि अर्को अप्रत्यासित नतिजा निकाल्न सक्छ ।

पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा रहेकाले एक पूर्व विजेताको यात्रा समूह चरणबाटै समाप्त हुन पनि सक्छ । तर ६ वटै टिमको शीर्ष दुई टिमसँगै तेस्रो हुनेमध्ये चार टिम पनि प्रिक्वाटरफाइनलमा पुग्ने भएकाले तीनवटै टिम नकआउट पनि पुग्न सक्छन् । त्यसका लागि सबै ६ टिमको नतिजा र अन्य समूहको नतिजा निर्णायक हुनेछ ।

कोरोना महामारीले गर्दा गत वर्ष नै हुनुपर्ने युरोकप एक वर्ष पछि सरेको थियो ।

युरोकपको यस संस्करणमा उपाधि दाबेदारको रुपमा रहेका टिमहरु यस्ता छन् –

फ्रान्स

पाँच वर्षअघि घरेलु मैदानमा भएको युरोकप फाइनलमा पराजित फ्रान्सले २०१८ मा विश्वकप जित्दै आफूलाई प्रमाणित गरेको थियो ।

साविक उपविजेता एवम् विश्व विजेता फ्रान्सलाई यसपटक उपाधि दाबेदारको रुपमा हेरिएको छ । विश्व वरीयतामा बेल्जियमभन्दा पछि रहेको फ्रान्स दोस्रो स्थानमा छ ।

दुई पटकको च्याम्पियन फ्रान्स तेस्रो पटक युरो उपाधि जित्ने योजनामा छ । करिब बेन्जामा झण्डै ६ वर्षपछि फ्रेन्च टिममा पुनरागमन गरेका छन् । युवा स्टार किलिएन एमबाप्पे, एन्टोनी ग्रीजमन, पउल पोग्वा, एनगोलो कान्टे जस्ता उत्कृष्ट खेलाडीहरु फ्रन्च टिममा छन् । गोलकिपर हुगो लोरिसको कप्तानीमा रहेको फ्रान्सलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ ।

जर्मनी र स्पेनपछि फ्रान्स एकभन्दा बढी युरोकप उपाधि जित्ने टिम हो । प्रान्स दुई पटक च्याम्पियन बनिसकेको छ । छनोट चरणमा एक खेल हारे पनि फ्रान्स समूह एचमा शीर्ष स्थानमा रहेको थियो ।

पोर्चुगल

सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा उपविजेता बनेको पोर्चुगलले २०१६ मा फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै पहिलो पटक युरो कप जितेको थियो ।

सुपर स्टार क्रिस्टियानो रोनाल्डोको नेतृत्व पोर्चुगल फेरि एक पटक उपाधि जित्ने लक्ष्यमा छ । प्रिमियर लिगको प्लेअर अफ दि इअर बनेका रुबेन डियाज, म्यानचेष्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, म्यानचेष्टर सिटीका ब्रुनो शिल्भा जस्ता खेलाडी चल्ने हो भने पोर्चुगलका लागि उपाधि रक्षा गर्न सम्भावना रहन्छ ।

विश्व वरीयतामा पाँचौ स्थानमा रहेको पोर्चुगलसँगै फ्रान्स र जर्मनी यसपटक एउटै समूहमा छन् । ‘ग्रुप अफ डेथ’बाट टिमहरु कसरी अगाडि बढ्छन् त्यसबाट उपाधि होड अझै क्लियर हुनेछ । छनोटमा समूह ‘बी’ मा रहेको पोर्चुगल युक्रेनभन्दा पछि दोस्रो स्थानमा रहेर छनोट भएको थियो ।

स्पेन

जर्मनीसँगै सर्वाधिक ३ पटक विजेता स्पेन लगातार दुई पटक युरोकप जित्ने पहिलो टिम हो । २००८ मा स्पेनको गोल्डे जेनेरेसनले युरोकप जित्दै त्यसको सुरुआत गरेको थियो । सन् २०१० मा विश्वकप जितेको स्पेनले २०१२ मा फेरि युरोकप जित्दै लगातार तीन ठूला प्रतियोगिताको उपाधि जितेको थियो ।

लुइस एनरिकेको टिममा यस पटक नियमित कप्तान सर्जियो रामोस हुने छैनन् । यस्तै २६ खेलाडी टिममा राख्न पाउनेमा उनले २४ खेलाडी मात्र छाने । त्यसमा पनि कप्तान सर्जियो बुस्केट र डिएगो लरेन्टेलाई कोरोना संक्रमण भएको छ । अहिले टिम आइसोलेसनमा छ । त्यसैले एनरिकेले ब्याकअपका लागि अरु खेलाडीहरु समेत बोलाएका छन् ।

प्रतियोगितामा स्पेन कसरी अघि बढ्छ त्यो समयले देखाउने छ । यस पटक स्पेनमा स्टार खेलाडी नभए पनि प्रतिभावान युवा खेलाडीहरु छन् । फेरान टोरेस, पेड्री, ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका जेरार्ड मोरेनो जस्ता खेलाडी टिममा छन् ।

फिफा वरीयतामा स्पेन छैटौं स्थानमा छ । छनोटमा स्पेन अपराजित रहेको थियो ।

बेल्जियम

पछिल्लो समय बेल्जियमको टिमलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । तर २०१६ को युरोकप र २०१८ को विश्वकपमा उपाधि दाबेदार मानिए पनि बेल्जियम फाइनल पुग्न सकेन ।

फिफा विश्व वरीयतामा अहिले शीर्ष स्थानमा रहेको बेल्जियम छनोटमा समूह ‘आई’मा अपराजित रहँदै सबै खेल जितेको रहेको थियो ।

एडेन हाजार्डको फिटनेस बेल्जियमको लागि टाउको दुखाई बने पनि टिममा अरु क्षमतावान खेलाडी छन् । म्यानचेष्टर सिटीबाट खेल्ने केभिन डे ब्रुएनाले चोटका कारण पहिलो खेल गुमाउने सम्भावना छ । यद्यपि मुख्य गोलकर्ता रोमेलु लुकाक, गोलकिपर थिबाउट कोर्तवा जस्ता खेलाडीको साथ बेल्जियमलाई छ ।

जर्मनी

सन् २०१८ को विश्वकपमा साविक विजेता भएर पनि समूह चरणबाटै बाहिरिएको जर्मनी यस पटक युरोकपमा त्यो खराब क्षणलाई बिर्साउने लक्ष्यमा हुनेछ । २०१६ को युरोमा जर्मनी सेमिफाइनलमै पराजित भएको थियो ।

फिफा वरीयतामा १२औं स्थानमा रहेको जर्मनीलाई पुनरागमनका लागि पनि यो युरोकप महत्वपूर्ण सक्नेछ । छनोट चरणमा जर्मनी समह ‘सी’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको थियो ।

थोमस मुलर र माट हुमेल्सले २ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । प्रशिक्षक योकम लोले पनि यस युरोकपपछि जर्मनीको टिम छाड्दैछन् । त्यसैले छाड्नुअघि उनी सुखद रुपमा अन्त्य गर्न चाहन्छन् । टिमे वेर्नर, काइ हाभार्ट, लरे साने, जोसुअ किम्मिक जस्ता खेलाडीहरुको प्रदर्शन जर्मनीको लागि महत्वपूर्ण बन्न सक्छ।

अहिलेसम्म सर्वाधिक १२ पटक युरोकप खेलेको जर्मनी ६ पटक फाइनल पुगेको थियो । जसमा पश्चिम जर्मनीको रुपमा २ र जर्मनी एकीकरणपछि एक गरी समग्रमा ३ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको थियो । स्पेनसँगै जर्मनी पनि सर्वाधिक ३ पटक उपाधि जित्ने टिम हो ।

इंग्ल्याण्ड

फिफा वरीयतामा चौथो स्थानमा रहेको इंग्ल्याण्ड जुनसुकै ठूलो प्रतियोगितामा सदाबहार दाबेदारको रुपमा रहन्छ । तर सन् १९६६ को विश्वकप विजेता इंग्ल्याण्डले अहिलेसम्म युरोकप उपाधि जित्न सकेको छैन । हरेक प्रतियोगिताअघि इंग्ल्याण्डको जति चर्चा हुन्छ प्रतियोगितामा इंग्ल्याण्डको प्रदर्शन उस्तै देखिँदैन । छनोटमा समूह ‘ए’ मा अपराजित रहेको इंग्ल्याण्ड शीर्ष स्थानमा रहेर छनोट भएको थियो ।

पाँच वर्षअघि इंग्ल्याण्डलाई आइसल्याण्डले प्रि-क्वाटरफाइनलमा अप्रत्यासित रुपमा पराजित गरेको थियो ।

यस पटक हृयारी केनको नेतृत्वमा रहेको इंग्लिस टोलीमा फिटनेसको समस्या छ । ट्रेन्ट अलेकजान्डर, आर्नोल्ड चोटकै कारण टिमबाट बाहिरिसकेका छन् । सेन्टर ब्याक हृयारी मगुएरो पनि पूर्ण फिट छैनन् ।

रहिम स्टर्लिङ, मार्कुस रासफोर्ड र जोर्डन हेन्डरसन उस्तै छैनन् । तर युवा खेलाडीहरु फिल फोडेन, मासोन माउन्ट र जाडोन सान्चोको आगमनले इंग्ल्याण्डलाई राहत मिलेको छ । प्रशिक्षक गारेथ साउथगेटले टिमलाई कसरी अगाडि बढाउने छन् हेर्न बाँकी छ ।

इटली

इटली सन् २०१८ को युरो कपमा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएको थियो । त्यसको दुई वर्षपछि भएको विश्वकपमा इटली छनोट हुन सकेन । त्यसपछि टिममा अहिले धेरै परिवर्तन आइसकेको छ ।

फिफा वरीयतामा सातौं स्थानमा रहेको इटलीले एक पटक युरोकप जितेको छ । बेल्जियम जस्तै इटलीले पनि छनोट चरणमा समूह ‘जे’ मा सबै खेल जितेको थियो ।

इटली २०१८ यता अपराजित छ । रोबर्टो मान्सिनीले टिम सम्हालेपछि पोल्याण्डसँग ड्र खेलेको इटली त्यसपछि पोर्चुगलसँग नेसन्स लिगमा पराजित भएको थियो । २०१८ सेप्टेम्बरपछि इटली २७ खेलमा अपराजित छ ।

नेदरल्याण्ड्स

इटली जस्तै पछिल्लो समय नेदरल्याण्ड्सको टिममा धेरै परिवर्तन भएको छ । २०१६ को युरोकपमा छनोट हुन नसकेको सन् १९८८ को विजेता नेदरल्याण्ड्सले प्रतियोगितामा पुनरागमन गरेको छ ।

समूह ‘सी’ मा जर्मनीपछि दोस्रो स्थानमा रहेर नेदरल्याण्ड्स युरोकपका लागि छनोट भएको हो ।

यसअघि नै कप्तान भर्जिल भान डाइकले युरोकप नखेल्ने घोषणा गरेपछि जर्जिनिओ विज्नाल्डमले नेदरल्याण्ड्सको कप्तानी गर्ने सम्भावना छ । फ्रान्क डे बोएरको टिममा उनीसँगै मेम्पिस डिपाए, माथिस डे लिग्ट, फ्रेँकी डे जोङ, राएन ग्राभेनबर्च जस्ता युवा खेलाडीहरु छन् ।-अनलाइन खबरबाट

प्रकाशित : २०७८ जेठ २८ गते ७:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI