प्रधानमन्त्रीको विषयमा नरोत्तम वैद्यले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २९ गते ९:०१
प्रधानमन्त्रीको विषयमा नरोत्तम वैद्यले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना

काठमाण्डाै – नेपाली कांग्रेसका वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभाको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

वैद्यले शुक्रवार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश डुबाउन लागेको भन्दै देशमा कोही नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भन्नुभएको थियो । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।

प्रदेश सभा सदस्य वैद्यको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । एमालेका नेताहरुले तत्कालै पक्राउ गर्न माग गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि वैद्यको भनाइ आपत्तिजनक रहेको बताइ सक्नुभएको छ । उहाँले आत्मालोचना गर्न  पनि निर्देशन दिनुभएको छ ।

प्रदेश सभामा वैद्यले भन्नुभएको थियो, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि, कोही तयार छैन भने म बन्ने कि !’

प्रकाशित : २०७८ जेठ २९ गते ९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI