डिम्याट खाताको सङ्ख्या ३५ लाख नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २९ गते १३:३९
डिम्याट खाताको सङ्ख्या ३५ लाख नाघ्यो

गत वर्षको असारसम्ममा करिब १७ लाखको सङ्ख्यामा रहेको डिम्याट खाताको सङ्ख्यामा शतप्रतिशत वृद्धि भई हाल ३५ लाख नाघेको छ । पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढ्दै गएको हो ।

एक वर्षकै अवधिमा मेरो सेयर खाताको सङ्ख्या साढे तीन गुणाले बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो सेयर खाताको सङ्ख्यासमेत एक वर्ष नपुग्दै करिब साढे तीन गुणाभन्दा बढी वृद्धि भई हाल करिब २६ लाख पुगिसकेको छ ।

धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्कासनमा करिब १८ लाखले आवेदन दिने गरेको बोर्डको भनाइ छ ।

धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजारले युजर आईडी लिएकामा यस अवधिमा उक्त सङ्ख्यामा उल्लेखनीय वृद्धि (करिब १७ गुणाभन्दा बढी) भई करिब छ लाख ६० हजार रहेको छ भने औसतमा छ लाख लगानीकर्ता कारोबारमा सक्रिय रहेको देखिएको छ । यसले पुँजी बजारमा लगानीकर्ताहरू क्रमशः प्रविधिमैत्री हुँदै गएको बोर्डको भनाइ छ । २०७७ साल असारसम्ममा डिम्याट खाता खोल्नेको सङ्ख्या १७ लाख रहेको थियो ।

चालू आर्थिक वर्षको ११ महिनामा ३५ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । जेठ २७ गतेसम्मको तथ्याङ्कअनुसार ३५ लाख ४९ हजार २४७ जनाले डिम्याट खाता खोलेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । गोरखापत्रबाट

प्रकाशित : २०७८ जेठ २९ गते १३:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI