मुख्यमन्त्री नेपालीले आज बजेट ल्याउदै, केन्द्रले कम बजेट पठाए पछि गण्डकीको बजेट घटेर आउने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १ गते १३:०२
मुख्यमन्त्री नेपालीले आज बजेट ल्याउदै, केन्द्रले कम बजेट पठाए पछि गण्डकीको बजेट घटेर आउने

नवलपुर । संघिय सरकारले प्रदेशमा बजेट घटाएर पठाए पछि गण्डकी प्रदेशको बजेट गतवर्षको भन्दा कम आउने भएको छ ।

गण्डकीलाई संघ सरकारले आगामी आ.वका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षका लागि गण्डकीले १३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ अनुदान पाएको थियो भने आगामी आर्थिक वर्षका लागि भने करिब ३३ करोड रुपैयाँ घटेर आएको छ ।

गण्डकीले समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पाएको छ । यस्तै ससर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपुरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ आएको छ ।

बजेटको आकार कति ?

गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा बजेट घटेर आउने भएको छ । चालु आर्थिक वर्षभन्दा करिब ३ अर्ब रुपैयाँ घटेर आगामी आर्थिक वर्षका लागि बजेट आउने देखिएको छ । चालु आर्थिक वर्षमा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक आम्दानी र संघबाट आउने अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेट खुम्चिने भएको हो ।

आज बेलुका ४ बजे मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफैंले बजेट भाषण गर्दैछन् । शनिबार गठन भएको सरकारलाई आज बजेट ल्याउनुपर्ने बाध्यता छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ (२) अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता छ ।

 

प्रकाशित : २०७८ असार १ गते १३:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI