No ads found for this position

गण्डकीको बजेट ३० अर्बको : सबै प्रदेशबासीलाई खोप, ज्येष्ठ नागरिकको निशुल्क उपचार

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १ गते १८:३३
No ads found for this position
गण्डकीको बजेट ३० अर्बको : सबै प्रदेशबासीलाई खोप, ज्येष्ठ नागरिकको निशुल्क उपचार
No ads found for this position

विशन क्षेत्री/पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ । शनिबार मात्रै गण्डकीमा कांग्रेस नेतृत्वको नयाँ सरकार बनेको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभामा पेश गरेको बजेटले स्वास्थ्य क्षेत्र र कोरोनालाई नै प्राथमिकतामा राखेको छ ।

आगामी वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेश गर्दै अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पोखरेलले प्रदेशसका सबै नागरिकलाई खोप लगाउन बजेट विनियोजन गरिएको जानकारी गराएका छन् ।

“प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु” उनले भने । यसबाहेक, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च पनि प्रदेश सरकारले व्योहोर्ने भएको छ । सबै जिल्लामा ५० शैयाको अस्पताल, बागलुङमा रहेको धौलागिरी अस्पताललाई ३०० शैयाको बनाउने र सबै जिल्लामा २ देखि ५ शैयाको सघन उपचार कक्ष (आइसियु) बेड निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए ।

सरकारले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकको निशुल्क उपचार साथै सबै प्रदेशबासीको बिमाको लागि “स्वास्थ्य बिमा, सरकारको जिम्मा” कार्यक्रम ल्याएको मन्त्री पोखरेलले जनाए । स्वास्थ्य स्वयंसेविधालाई हरेक वर्ष ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने उनले जनाए ।

सहिदको नामबाट विद्यार्थीलाई छात्रवृत्ति

आगामी वर्षको बजेटमा सहिद दिलबहादुर रम्तेलको नाममा समेत कार्यक्रम थप भएको छ । यी सहिदको नामबाट वर्षेनी एमबिबिएस लगायत उच्च प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा छनोट भएका विद्यार्थीका लागि बजेट छुट्याएको छ । गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षालय पनि आगामी आर्थिक वर्षदेखि सुरु गर्नेगरि आवश्यक बजेट विनियोजन गरिएको पोखरेलले जनाए ।

विपन्न बस्तीमा मुख्यमन्त्री, अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार राहत
नयाँ सरकारले “विपन्न बस्तीमा मुख्यमन्त्री” नामक नयाँ कार्यक्रम ल्याएको छ । विपन्न समुदायको उत्थान सशक्तिकरण र विकासका निम्ति यो कार्यक्रम ल्याइएको पोखरेलले जनाए । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लाागि ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

यसबाहेक सरकारले कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई सामाजिक सुरक्षाबापत मासिक ५ हजार रुपैयाँ राहत दिने भएको छ । कोरोनाबाट मृत्यु भएका परिवारलाई सरकारले ५० हजार रुपैयाँ  आर्थिक सहयोग उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

गोरखाको च्याङलीमा कुमाल जातीको सांस्कृतिक संग्रहालय निर्माण गर्ने, महिला जागृति एवम आर्थिक, सामाजिक, राजनैतिक सशिक्तकरणका लागि “सक्षम महिला, समानान्तर पाइला” कार्यक्रमको लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

सामूहिक रूपमा उद्यम गर्न चाहने युवाहरूका लागि “उद्यमी युवा, समृद्ध प्रदेश निर्माणमा टेवा” कार्यक्रम पनि सरकारले ल्याएको छ ।

चक्लाबन्दीमा खेती, एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य
सरकारले बजेटमार्फत कृषि क्षेत्रतर्फ जग्गा चक्लाबन्दीलाई जोड दिएको छ । कृषि बिक्री केन्द्र खोल्ने र उपजको मूल्य तोक्ने जनाइएको छ । पशुपंक्षी बिमा कार्यक्रम तथा कृषिमा सहुलियत ऋण कार्यक्रमलाई सरकारले बजेट विनियोजन गरेको अर्थमन्त्री पोखरेलले जनाए ।

पर्यटनतर्फ सरकारले हरेक निर्वाचन क्षेत्रमा एक पर्यटकीय गन्तव्य निर्माण गर्ने जनाएको छ । पर्यटन व्यवसाायीलाई राहत सहित गण्डकी घुम्न आउने पर्यटकलाई विशेष प्याकेज कार्यक्रमलाई बजेटले समेटेको छ । नारायणी नदी किनारमा बिच पार्कको सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरिएको पोखरेलले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ भन्दा ४ अर्ब रुपैयाँ सानो बजेट पेश गरेको हो । तर, गतवर्ष सरकारले खर्च गर्न नसकेको नगद मौज्दात मात्रै ७ अर्ब भन्दा बढि थियो । यस वर्ष नगद मौज्दात २ अर्ब रहने अनुमान गरिएको छ ।

सरकारले ल्याएको बजेटमध्ये १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ । यो कुल बजेटको ४३ प्रतिशत हो । पुँजीगततर्फ सरकारले १६ अर्ब, ७३ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । वित्तीय व्यवस्थातर्फ २४ करोड रुपैयाँ छुट्याइएको छ ।

बजेटका स्रोतमा संघ सरकारले दिएको सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख  र वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड रुपैयाँ आएको छ ।

सरकारले राजस्व बाँडफाँडबाट ७ अर्ब ६२ करोड, रोयल्टी ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड उठाउने लक्ष्य लिएको छ ।
यी स्रोतबाहेक झण्डै ४ अर्ब रुपैयाँ न्यून हुन आउँछ । यसलाई पूर्ति गर्न आन्तरिक ऋण १ अर्ब, संघसँग १ अर्ब ऋण र सरकारले खर्च गर्न नसकेको नगद मौज्दात २ अर्ब रुपैयाँ रहने मन्त्री पोखरेलले जनाए ।

सरकारले सवारी, तथा प्राकृतिक स्रोत लगायतका राजस्वका केही स्राेतकाे दर बढाउने भएको छ ।

प्रकाशित : २०७८ असार १ गते १८:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI