स्वास्थ्य मन्त्री तामाङको सूचना आतंक: ५० औं वेपत्ता, सुरक्षित पुल नै ध्वस्त

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ३ गते १३:५७
स्वास्थ्य मन्त्री तामाङको सूचना आतंक: ५० औं वेपत्ता, सुरक्षित पुल नै ध्वस्त

काठमाडौं । समाचारको स्रोतका रुपमा सरकारी व्यक्ति तथा संस्थालाई लिने गरिन्छ । अझ सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमा हालेका स्टाटसबाट समाचारहरु बन्ने गर्छन् ।

तर सरकारका जिम्मेवार मन्त्री नै गलत सूचना दिन्छन् भने सर्वसाधारणमा भ्रम त हुने नै गर्छ । बुधबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले फेसबुकमा लेख्दै मेलम्ची बाढी पहिरोमा ५० औं जना बेपता भएको, धेरै पक्की पुलहरु बाढीले बगाएको लेख्नु भएको थियो ।

धेरै सञ्चारमाध्यममा त्यसलाई आधार मान्दै मेलम्ची पहिरोमा ५० जना भन्दा बढी वेपत्ता भनेर समाचार समेत आएका थिए । त्यतिबेलासम्म हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका मेलम्ची-इन्द्रावती नदि करिडोरमा के कति वेपत्ता र मृतक भन्ने थाहा हुन सकेको थिएन् ।

प्रहरी चौकी, नेपाली सेना, सशस्त्रको क्याम्पमा समेत बाढीको प्रभाव थियो । राति घटना भएकाले बिहानै तथ्याकं आउने कुरा नै थिएन ।

तर मन्त्री तामाङले यसरी फेसबुकमा लेख्नुभयो कि उहाँ बाढी जाँदै गर्दा बाढीमा परेर वेपत्ता भएकाहरुको संख्या गन्दै हुनुहुन्थ्यो । अझ ५० औं भनेको ५० भन्दा बढी जति पनि भन्ने बुभिन्छ ।

यसलाई समेत ख्यालै नगरी मन्त्रीको यस्तो स्टाटसले सूचना त गलत थियो नै विपत्तमा परेकाका आफन्तहरुमा अझ त्रास फैलाएको थियो ।

मोबाइलको नेटवर्क नहुनु र बती समेत नहुनुले सहजै आफन्तलाई सम्पर्क गर्ने अवस्था थिएन् । अझ मन्त्रीको गलत सूचनाको आतंकले सञ्चारमाध्यममा मुख्य समाचारहरु बनिरहेका थिए । यसले थप पीडितलाई पिडा पुर्याएको थियो ।

साँझसम्म जिल्ला प्रशासनले जारी गरेको सूचनामा २० वेपत्ता र १ को मृत्यु भएको उल्लेख छ । मन्त्रीले भनेका ५० औं संख्या त्यहाँ उल्लेख छैन् ।

होला खोजतलासका क्रममा वेपत्ताको संख्या बढ्न सक्ला तर त्यो संख्या एकिन नै नभई मन्त्रीले नै ५० औं वेपत्ता भन्नुलाई के भन्ने ?

अर्कोतर्फ सञ्चारमाध्यममा ७ जनाको मृत्युको खबरले व्यापक स्थान पाएको थियो । एक जना सिन्धुपाल्चोकमा कार्यरत सरकारी अधिकारीले किन यस्ता समाचार आउँछन् भन्दै प्रश्न गरेका थिए ।

उनले भने, `म सूचना संकलनमा बिहानदेखि छु, मलाइ थाहा नभएको सूचना पत्रकारले कसरी पाउँछन् ? अर्को तर्फ शव नभेटिउन्जेल हामीले कसैलाई मृतक भन्न मिल्दैन भोलि वेपत्ता मान्छे कतैबाट आए के गर्ने`।

यता मन्त्री तामाङले वेपत्ताको संख्या मात्रै बढाउनु भएन । भौतिक संरचना ध्वस्तमा पनि त्यतिकै बढावा दिएर लेख्नुभयो । सरकारको आफ्नै सूचना संयन्त्र छ । अझ मन्त्री तामाङ त्यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत भएकाले उहाँको आफ्नै सूचना संयन्त्रसमेत छ ।

तर त्यसको कुनै पर्वाह नै नगरी मन्त्री तामाङले बाहुनेपाटीको पुल बाढीले बगाएको उल्लेख गर्नुभको छ । जहाँकी बाहुने पार्टीको पुलबाट आवतजावत भइरहेको छ । उक्त पुलमा बाढीले कुनै क्षति गरेको छैन् ।

प्रकाशित : २०७८ असार ३ गते १३:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI