मौसममा खराबी आए पछि चामेमै रोकिए मुख्यमन्त्री नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ३ गते २०:०२
मौसममा खराबी आए पछि चामेमै रोकिए मुख्यमन्त्री नेपाली

लमजुङ — बाढीपीडितलाई राहत लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङको चामे पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मौसममा खराबी आएपछि चामेमै रोकिएका छन् । उनीसँगै विना विभागीयमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र सांसद चिन्ताबहादुर घले पनि चामे पुगेका थिए ।

बाढीपीडितको उद्धारका लागि मनाङमा खटिरहेको नेपाली सेनाको एम१७ हेलिकप्टर इन्धन भर्न पोखरा आएको मौकामा त्यसमा चढेर मुख्यमन्त्री, मन्त्री, सांसदसहितको टोली मनाङ पुगेको हो । मुख्यमन्त्रीसँगै मनाङ पुगेका पत्रकार प्रकाश ढकालले पोखरा फर्किन नसकेको बताए । ‘हामी अहिले साँझ ७ बजेतिर हेलिकप्टर चढ्यौं । केहीबेर उड्यो । तर, सकिँदैन भनेपछि हामी चामेमै बस्ने भयौं’ उनले भने । मुख्यमन्त्री पोखरेलले आफूसहित सबै चढेको हेलिकप्टर मौसम असहज भएपछि चामेमै फर्किएको बताए ।

मुख्यमन्त्री पोखरेलले फेसबुक पेजमार्फत मनाङबाट फर्किन नसकेको र सकुशल रहेको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो टोली आज मनाङ सदरमुकाम चामेमै बस्नुपर्ने भएको छ । मौसमको खराबी भए पनि हामी सुरक्षित रुपमा बसेका छौं । मौसम सफा हुनेबित्तिकै हामी भोलि फर्कने छौं ।’ उनले उद्धार र राहतका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘मौसम खराब छ । उद्धारमा समस्या भइरहेको छ । उद्धारमात्र हैन, राहत र बसोबासको व्यवस्था प्रदेश सरकारले मिलाउँछ ।’ मनाङबाट फर्केर तत्काल व्यवस्थापनका लागि बजेटको प्रबन्ध गर्ने उनले बताएका छन् । ‘जहाँसम्म विश्वासको मतको कुरा छ । मौसम सफा भएमा बिहानै (शुक्रबार) हामी पोखरा आउँछौं । सदन चल्छ र कारबाही अगाडि बढ्छ’ उनले भनेका छन्, ‘अवस्था अनुकूल भएन र समयमै आउन सकिएन भने संसद् सचिवालयले अर्को दिनको कार्यसूची बनाउँछ ।’

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले मनाङको मौसम एक्कासी बिग्रिएकाले पोखराबाट आएका मुख्यमन्त्री सहितको टोली र काठमाडौंबाट आएका विघटित प्रतिनिधि सभा सदस्य, पूर्वराज्यमन्त्री टोली फर्किन नसकेको बताए । काठमाडौंबाट उद्धार तथा राहतका लागि आएको नेपाली सेनाको हेलिकप्टर चामेमै छ ।

मनाङबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहितको टोलीले ३५ जनाको उद्धार गरेको छ । टोलीमा सहभागीहरु पनि मनाङमै छन् । उनीहरुले ल्याएको ‘अल्टिच्युट’ हेलिकप्टर फर्केको छ । राहत लिएर पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङसहितको टोली आएको प्रभु एयरको हेलिकप्टर पनि मनाङमै रहेको छ ।

प्रकाशित : २०७८ असार ३ गते २०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI