युरोकप फुटबलमा आज तीन खेल हुँदै, साविक विजेता पोर्चुगल जर्मनीसँग भिड्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ५ गते १७:०२
युरोकप फुटबलमा आज तीन खेल हुँदै, साविक विजेता पोर्चुगल जर्मनीसँग भिड्ने

काठमाडौं । युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह एफ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

हंगेरी भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३–० ले पराजित भएको थियो । हंगेरी समूहको पुछारमा रहेको छ ।

यस्तै दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

समूह एफ मा रहेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीका लागि यस खेल महत्वपूर्ण रहेको छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित बाहेक अन्य विकल्प छैन । जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ ।

आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

समूह ई को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

पोल्याण्ड भने पहिलो जितसहित मैदान उत्रने छ । अंक विहिन पोल्याण्ड पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो ।

प्रकाशित : २०७८ असार ५ गते १७:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI