No ads found for this position

सार्वजनिक यातायात कहिलेदेखि सञ्चालनमा आउला ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ८ गते १९:०७
No ads found for this position
सार्वजनिक यातायात कहिलेदेखि सञ्चालनमा आउला ?
No ads found for this position

काठमाडौं उपत्यकामा डेढ महिनादेखिको निषेधाज्ञा आजदेखि केही खुकुलो भएको भएको छ । गत आइतबार बसेको उपत्यकाका जिल्ला प्रशासनका अधिकारीको बैठकले जनजीवन सहज बनाएर आर्थिक गतिविधि चलायमान बनाउन जारी निषेधाज्ञालाई केही खुकुलो बनाएको हो ।

निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागु भएको छ । साथै बार तोकेर पसल खोल्न दिने, अत्यावश्यकीय सेवाका कार्यालय सञ्चालन गर्न दिने भनिएको छ । निजी सवारीमार्फत सञ्चालन हुँदै आएका टुटल र पठाओ सेवा पनि सञ्चालनमा आएका छन् ।

तर, सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छैनन् । अझ सार्वजनिक यातायात सेवा कहिलेदेखि सञ्चालनमा आउँछ टङ्गोसमेत लागेको छैन । लामो समयदेखि सार्वजनिक सेवा दिने सवारी साधन ग्यारेजमै थन्किदा यसको प्रत्यक्ष मारमा यातायात व्यवसायी त परेका छन् नै सँगै सर्वसाधरण पनि प्रभावित भएका छन् ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार निषेधाज्ञाका कारण ११ लाख सवारी साधन ग्यारेजमै थन्किएका छन् । महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात व्यवसायमा निषेधाज्ञा बाधक बन्दा यातायात क्षेत्रको १० खर्ब रुपैयाँ जोखिममा परेको बताए ।

‘‘अधिकांश सार्वजनिक यातायात व्यवसायीले बैंक तथा सहकारी संस्थाको ऋण लिएका छन् । निरन्तरको नियषेधाज्ञाले यातायात व्यवसायीलाई किस्ता बुझाउन हम्मेहम्मे परिरहेको छ । बैंक तथा वित्तिय संस्थाले व्यवसायीलाई पटक–पटक किस्ता बुझाउन ताकेता दिइरहेका छन्,” महासचिव सिटौलाले भने, ‘‘आजदेखि निजी सवारी साधन सञ्चालनमा आए तर सार्वजनिक यातायात व्यवसायीहरूले भने ती निजी सवारी साधन गुडेको हेरेर चित्त बुझाउनु परेको छ ।”

दुई महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन ग्यारेजमै बिग्रिने डर रहेको उनको भनाइ छ । अब सहज हुँदै गएको अवस्थालाई मध्येनजर गर्दै सार्वजनिक यातायात व्यवसाय सञ्चालन गर्न दिनुपर्ने महासंघको माग छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोरोना संक्रमण बढ्न सक्ने जोखिम कायमै रहेकाले सार्वजनिक सवारीमा रोक लगाउनु परेको हो ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली तत्काल सार्वजनिक सवारी साधन सञ्चालनमा आउने/नआउनेबारे कुनै टुङ्गो नभएको बताउँछन् ।

‘‘निजी गाडीहरू पनि स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा सञ्चालनमा ल्याइएको हो । यसमा पनि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ । त्यसैले आउने दिनको अवस्था कस्तो रहला भन्नेबारे थाहा हुँदैन,” पराजुलीले भने, ‘‘कार, जिप, भ्यानमा बढीमा चारजनासम्म राखेर सवार गर्न पाइनेछ । ट्याक्सीको हकमा तीन जना रहनेगरी स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ भने मोटरसाइकलको हकमा बढीमा दुईजना रहनेगरी जोरबिजोर लागु गरिएको छ ।”

सार्वजनिक यातायात लगायत सबै क्षेत्र खुला गरिहाल्नेबेला नभइसकेको उनको भनाइ छ । पराजुलीले सार्वजनिक सवारी साधनसहित, पार्टिप्यालेस, क्लब लगायतका भिडभाड हुने क्षेत्रमा चरणबद्ध रूपमा सहज बनाउँदै लैजाने जानकारी दिए । ‘‘सिधै निषेधाज्ञा खुलाइहाल्न हुँदैन । कोरोनाको चेन ब्रेक भएको छैन । संक्रमणको जोखिम कायमै छ । त्यसैले संक्रमणको अवस्था हेरेर चरणबद्ध रूपमा सहज बनाउँदै लैजाने योजना छ,” प्रजिअ पराजुलीले भने ।

पछिल्लो समय उपत्यकाको दैनिक संक्रमणदर पाँचसयभन्दा कममा झरेको छ ।  निषेधाज्ञाकै कारण संक्रमणदर घटिरहेका बेला सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याए संक्रमण बढ्न सक्ने जोखिम रहेको प्रशासनका अधिकारीको भनाइ छ । तर, पछिल्लो समय जनजीवन सहज बनाउने विषयमा प्रशासन सकारात्मक रहेको अधिकारीहरूको भनाइ छ ।

प्रजिअ पराजुली सार्वजनिक सवारी साधनमा भिडभाड हुने भएकाले सञ्चालनमा रोक लगाइएको बताउँछन् । ‘‘भिडभाड हुने क्षेत्र अहिले नै खुलाइयो भने फेरी उपत्यकाको संक्रमणदर भयावह हुन सक्छ । हामी आम नागरिकको हक हितमा केही प्रावधान खुकुलो बनाएका छौँ । उक्त प्रावधान बल्ल आजदेखि लागु हुँदैछ । पछिल्लो पटक १४ गतेसम्म थपिएको निषेधाज्ञा पछि के हुन्छ केही भन्न सकिदैन,” प्रजिअ पराजुलीले भने, ‘‘अहिले नै सञ्चालन गर्नुपर्ने अवस्था आएको छैन । काठमाडौं उपत्यका प्रवेशमा पनि रोक लगाइएको अवस्था छ ।”

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनका अधिकारीहरूले कोरोना संक्रमणको समीक्षा गर्दै निषेधाज्ञाको मोडालिटीमा फेरबदल गर्दै आएका छन् ।

सरकारले दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित : २०७८ असार ८ गते १९:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI