विपक्षी गठबन्धनको वक्तव्य– सरकारले जताततै हस्तक्षेप गर्न थाल्यो, देश गम्भीर संकटतर्फ उन्मुख

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ८ गते १९:५४
विपक्षी गठबन्धनको वक्तव्य– सरकारले जताततै हस्तक्षेप गर्न थाल्यो, देश गम्भीर संकटतर्फ उन्मुख

काठमाडौं । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब दिने र धम्की दिने काम गरिरहेको आरोप लगाएको छ ।

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एक विज्ञप्ति जारी गरेर ओली र उनले नेतृत्व गरेको सरकारका गतिविधिबाट देश गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् ।

“संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरण, कानुनको पालना र निर्धारित जिम्मेवारीको इमान्दार निर्वाह तथा राष्ट्र र जनताको सर्वोपरि हित लोकतान्त्रिक प्रणालीका मूलभूत मान्यता भएपनि जनताको सार्वभौमसत्ता र आफ्नो बारेमा नेपाली जनताले आफैं निर्णय गर्ने पद्धतिलाई बलियो बनाउनकै लागि लामो, कठोर र वलिदानीपूर्ण जनआन्दोलन र संघर्ष भएका हुन्,” पाँच दलकाे वक्तव्यमा भनिएकाे, “तर प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दवाव र धम्की दिने तथा संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन् । नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ ।”

उनीहरूले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको आरोप पनि लगाएका छन् । “निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरूप निष्पक्ष रूपमा काम नगरी कानून र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु अत्यन्त चिन्ताको विषय हो । यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्‍याउँछ । यस्ता गलत गतिविधिहरू अविलम्ब बन्द गरिनुपर्छ,” वक्तव्यमा भनिएको छ ।

 

प्रकाशित : २०७८ असार ८ गते १९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI