कृषिको व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य : मुख्यमन्त्री नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १६ गते ११:५४
कृषिको व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य : मुख्यमन्त्री नेपाली

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग मङ्गलबार पोखरामा भएको भेटमा उहाँले गण्डकी प्रदेश सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।

नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको पहलमा उक्त सम्बन्ध स्थापित भएको स्मरण गर्नुभयो । इजरायलबाट दक्ष जनशक्ति नेपालमा ल्याएर सहकारी प्रवद्र्धनका लागि समेत बिपी कोइरालाले पहल गरेको बताउँदै उहाँले दुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेकामा जोड दिनुभयो ।

राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै आगामी दिनमा अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गर्नुभयो । दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको उहाँले बताउनुभयो । अहिले सातै प्रदेशबाट ५०० को हाराहारीमा युवा किसान तालिमका लागि इजरायलमा छन् । सो अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले र प्रदेशका निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले नेपाल–इजरायलबीचको लामो समयदेखिको सम्बन्ध र सहकार्यका बारेमा धारणा राख्नुभएको थियो ।

प्रकाशित : २०७८ असार १६ गते ११:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI