देशभर वर्षा, पाँचवटा प्रदेशमा भारी र अति भारी वर्षा हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १७ गते ७:२७
देशभर वर्षा, पाँचवटा प्रदेशमा भारी र अति भारी वर्षा हुने

मनसुन सक्रिय भएसँगै हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटी बताउँछिन् ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानमा  धेरै भारी वर्षाको सम्भावना रहेको छ  ।

जल तथा माैसम विज्ञान विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानमा  धेरै  भारी वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीकाे भनाइ छ ।

मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात सेवा  प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा कम्तीमा तीनदिनसम्म वर्षा कायम रहने देखिन्छ,” मौसमविद् नगरकोटी भन्छिन्, “काठमाडौं उपत्यकामा पनि मनसुन सक्रिय नै रहने छ । यहाँ पनि कम्तीमा तीनदिनसम्म वर्षा हुने देखिएको छ ।” उनी वर्षासँग यसबाट आउने समस्याहरुबाट बच्च सतर्क हुन र पूर्वतयारी अपनाउन आग्रह पनि गर्छिन् ।

हिजोबाट मनसुन थप सक्रिय भएको हो । यसअघि मनसुन सुरु हुनबित्तिकै सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा लेदोसहित आएको बाढीले ठूलो परिमाणमा जनधनको क्षति गरेको थियो । ठूलो परिमाणमा जनधनको क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुका साथै घरबारबिहीन भएका छन् ।

यो वर्ष अघिल्लो वर्षको तुलनामा धेरै वर्षा हुने विभागले बताउँदै बाढी तथा भू–क्षयबाट हुने सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व तयारी अपनाउन विभागले सरोकारवाला निकायलाई सचेत गराइसकेको छ ।

प्रकाशित : २०७८ असार १७ गते ७:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI