कांग्रेसको क्रियाशील सदस्यता विवाद निरुपण, यस्ता छन् मुख्य तीन सहमति

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १९ गते ९:४३
कांग्रेसको क्रियाशील सदस्यता विवाद निरुपण, यस्ता छन् मुख्य तीन सहमति

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवादलाई शीर्ष तहले निरुपण गरेको छ । शुक्रबार साँझ बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले क्रियाशील सदस्यको विषयमा देखिँदै आएको विवादलाई सहमतिबाटै टुंग्याएको हो ।

कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता सम्बन्धी विवाद शीर्ष तहको सहमतिबाट टुंगिएको जानकारी दिए । ‘लामो समयदेखि क्रियाशील सदस्यताका विषयमा देखिंदै आएको विवाद अब टुंगिएको छ, सदस्यताका विषयलाई तीन मुख्य विषयमा बाँडफाँड गरेर विवाद टुंगाइएको हो,’ छानबिन समितिका संयोजक लेखकले  भने ।

यसरी विवाद समाधान गर्दा कांग्रेस भित्रकै व्यक्तिहरुले पाएका अर्थात् अरु दलबाट आएर समायोजन भएका बाहेकका नवीकरण र नयाँ सदस्यताको विवादलाई छानबिन समितिले नै हेर्ने र टुंग्याउने गरी अधिकार पाएको छ । यस्तै गच्छेदार नेतृत्वको तत्कालीन दलबाट आएकाहरुका सदस्यताका विवादलाई सो पक्षसँग समितिले विवाद टुंग्याउन पहल गर्ने नभए शीर्ष नेतृत्वबाट टुंग्याउने, पहिले नाम आएर पनि सदस्यता नपाएकालाई सहमति गरेर दिने तथा पहिले नाम नआएर पछि आएकालाई हटाउने सहमति भएको छ ।

यसैगरी राप्रपा परित्याग गरी आएका सुनील थापासहितको समूह र अन्यको हकमासमेत सोही नीतिबाट विवाद समाधान गर्ने सहमति भएको छ । त्यस्तै कतिपय स्थानमा नयाँ सदस्यताका हकमा देखिएको विवाद सहमति भए टुंग्याउने र नभए हालका लागि थाँती राखेर पुराना सदस्यतालाई मात्रै मान्यता दिने सहमति भएको संयोजक लेखकले जानकारी दिए ।

‘नविकरण र नयाँ बारे समितिले नै टुंगो लाउने छ, सहमति हुन नसकेको ठाउँमा नयाँलाई स्थगन गरेर पुरानालाई मात्रै समेट्ने सहमति भएको छ,’ सहमतिका बारे जानकारी दिंदै नेता लेखकले थपे ।

हालसम्म नयाँ र पुराना गरी ८ लाख २० हजार क्रियाशील सदस्यता सम्बन्धी विवरण कांग्रेसले बनाएको अनलाइन प्रणालीमा इन्ट्री भएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले विवाद समाधानका लागि मापदण्ड बन्न नसक्दा तिव्रताका साथ काम गर्न पाएको थिएन ।

समितिले हाल तिलगंगास्थित नेपाल भारतमैत्री धर्मशालामा बसेर सदस्यता सम्बन्धी काम गर्दै आइरहेको छ । यस्तै समितिले शुक्रबारसम्म ३० जिल्लाको क्रियाशील सदस्यता टुंग्याएको छ ।

प्रकाशित : २०७८ असार १९ गते ९:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI