कस्ले हाँक्ला त नवलपुर काङ्ग्रेसको बागडोर ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २० गते २०:४९
कस्ले हाँक्ला त नवलपुर काङ्ग्रेसको बागडोर ?

नवलपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जादाँ राज्य संघिय संरचनामा गए पछि कान्छो जिल्लाको रुपमा पहिचान बनाएको नवलपुरको कांग्रेस वृतमा पनि यति बेला दौडधुप बढन थालेको छ । कांग्रेस महामन्त्री डा. शशांक कोईरालाको निर्वाचन क्षेत्र रहेको र कोईराला आफै केन्द्रिय सभापतिको दौडमा लागेको बेला अबको नवलपुर कांग्रेसको बागडोर कस्ले हाँक्ला , भन्ने विषय जिल्लामा यति बेला चर्चाको बिषय बनेको छ । सभापतिका उम्मेदवार बन्न इच्छुक नेताहरुले आधिकारीक रुपमा उम्मेदवारी घोषणा नगरे पनि जिल्लाका केहि नयाँ र पुराना नेताहरुको नाम यतिबेला नवलपुर कांग्रेस वृतमा सभापतिको उमेदवारको रुपमा चर्चा चल्न सुरु गरेको छ ।

 

१.महेन्द्रध्वज जिसी

पन्चायतकाल देखि नै साबिक नवलपरासीमा नेपाली कांग्रेसको राजनीति सुरु गरेका नेता महेन्द्रध्वज जिसी जिल्लाका कार्यकर्ताको माझ परिचित छन । साबिक नवलपरासीको करीब १९ वर्ष पार्टी सचिवको बागडोर सम्हालेका जिसी २०५१ मा प्रतिनिधी सभा सदस्य र २०६४ मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । जिसि कार्यकर्ताको माझ परिचित भए पनि नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा देवेन्द्रराज कंडेल र १३ औं महाधिवेशनमा हालका सभापति विष्णु लामिछानेसँग थोरै मतान्तरले जिल्ला सभापतिमा पराजित भएका थिए । जिल्ला सभापतिमा २ पटक पराजित भए पनि यस पटक समेत नेतृत्वको आकांक्षा जिसीले पनि गर्न सक्ने चर्चा जिल्लामा सुरु भएको छ ।

२.विष्णु लामिछाने

नेपाली कांग्रेसका नवलपुरका वर्तमान सभापति समेत रहेका प्रदेश सांसद विष्णु प्रसाद लामिछाने फेरि पनि जिल्ला सभापतिको उम्मेदवार हुने चर्चा नवलपुर कांग्रेस वृतमा छ । लामिछाने फेरि दोस्रो कार्यकालका लागी सभापति बन्ने तयारीमा रहेको उनि निकट स्रोतले जनाएको छ । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा महेन्द्रध्वज जिसीको टिमबाट साविक नवलपरासीको सचिवमा निर्वाचित उनि १३ औं महाधिवेशनमा महेन्द्रध्वज जिसीलाई पराजित गर्दै सभापतिमा झिनो मतले निर्बाचित भएका थिए ।

३. मदनभक्त अधिकारी

नेपाली कांग्रेसका नेता स्व. सुर्यभक्त अधिकारीका छोरा हुन मदनभक्त अधिकारी । नेपाली कांग्रेसको महासमिती सदस्य समेत रहेका अधिकारी पनि जिल्ला सभापतिको उम्मेदवार बन्ने विषय कांग्रेस वृतमा चल्न थालेको छ । नेपाल रेडक्रसको जिल्ला सभापति समेत रहेका अधिकारी आफना पिता स्व. सुर्यभक्त अधिकारीको विरासत फर्काउने गरि जिल्ला सभापतिको रुपमा आफुलाई अगाडी सार्ने तयारीमा रहेको उनि निकट स्रोतले बतायो ।

४. बालकृष्ण घिमिरे

नेपाल विद्यार्थी संघबाट आफ्नो राजनिती यात्रा सुरु गरेका बालकृष्ण घिमिरे नेपाली कांग्रेसका नवलपुरका सचिव हुन । प्राध्यापन पेशामा रहेका घिमिरे वि.स.२०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्य भै सक्रिय राजनिति सुरु गरेका  उनि प्रजातान्त्रीक विचार समाज नवलपरासीका संस्थापक अध्यक्ष हुन् । २ पटक प्रजातान्त्रीक विचार समाजको नेतृत्व गरेका उनि पार्टि भित्र बौद्धिक नेता मानिन्छन् । अघिल्लो पुस्तालाई सम्मान गर्दै युवा पुस्ताले नेतृत्व गर्नुपर्ने बेला आएको भन्दै घिमिरेले जिल्ला सभापतिमा आफनो उमेदवारी रहने बताए ।

५. गजेन्द आले मगर

नेपाली कांग्रेसका महासमिती सदस्य समेत रहेका गजेन्द आले मगर जिल्ला सभापतिको उम्मेदवार बन्ने चर्चा कांग्रेस नवलपुरका कार्यकर्ता माझ चल्न सुरु गरेको छ । गएको स्थानिय तहको निर्वाचनमा गैडाकोटको मेयरमा पराजीत मगरले कार्यकर्ता माझ राम्रो सम्बन्ध बनाएका छन । जनजातिले पनि नेतृत्वको अबसर पाउनुपर्ने माग उठिरहेका बेला उनको आकांक्षा बढेर गएको अनुमान गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

 

वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरुले आन्तरिक रुपमा चुनावी प्रचार थालिसकेका छन् । चुनाव हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् ।नवलपुरमा १६ हजार ७७९ क्रियाशील सदस्य रहेका छन् । यी मध्ये ७ हजार ९०० पुराना सदस्यहरु हुन् । सवैभन्दा बढी गैँडाकोट नगरपालिकामा ४८०५, कावासोतीमा ३५७०, देवचुलीमा २६५७, मध्यविन्दुमा २१०४, विनयीत्रिवेणीमा १३९५, बुलिङटारमा ९८५, हुप्सेकोटमा ७७३ र बौदीकाली गाउँपालिकामा ४९० जना क्रियाशील सदस्य रहेका छन् ।

नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।

 

प्रकाशित : २०७८ असार २० गते २०:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI