चौध करोड खर्चियो पहिरो रोकिएन, जोखिम पहिचानमा चुके प्राविधिक

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २४ गते १५:१४
चौध करोड खर्चियो पहिरो रोकिएन, जोखिम पहिचानमा चुके प्राविधिक

बसन्त पराजुली

भरतपुर, असार २४ गते । नारायणगढ मुग्लिन सडक पुनर्निर्माणका क्रममा राजमार्गसँगैका भिर काटिँदा पहिरोको समस्या आउन सक्ने आकंलन गरेर नै सरकारले भारतीय कम्पनी इन्टर कन्टिनेन्टल कन्सल्टेण्ड एण्ड टेक्नोक्रेट (आई.सि.टी.)मार्फत पहिरो जोखिम क्षेत्रको अध्ययन गरेको थियो ।

उसकै सुझावका आधारमा पहिरो नियन्त्रणकै लागि नारायणगढ मुग्लिन सडक आयोजनाले १४ करोड रुपैयाँ खर्च पनि गर्यो तर राजमार्गमा पहिराको समस्या समाधान हुन सकेन । हरेक वर्षको वर्षादसँगै पहिरोको समस्या जस्ताको तस्तै रह्यो ।
पछिल्लो एक हप्ता त रिल (एकपछि अर्को) तरिकाले झरि रहेको पहिरोले सो राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नुपरेको मुग्लिनमा बसेर नियमित पहिरोको रिपोटिङ्ग गरिरहनुभएका पत्रकार विनोद श्रेष्ठले बताउनुभयो ।
“अहिले यो सडक यात्राका लागि सुरक्षित छैन । छिनमै खुल्ने छिनमै बन्द हुने समस्या छ”, पत्रकार श्रेष्ठ भन्नुहुन्छ “बाटो खुल्यो भनेर यात्रु सडकमा आइपुग्छन् तर छिनमै पहिरो झरेर अलपत्रमा पर्ने गरेका छन् ।”

अविरल रुपमा आएको पानीले पनि पहिरो सफा गर्न समस्या भएको छ । सडक पुनर्निर्माणका क्रममा पहिरो जोखिम क्षेत्रका बारेमा गरिएको अध्ययन कतै अपुरो वा हुनु पर्ने ठाउँमा नभई अन्यत्र भएको हो की भन्ने अहिले यो सडकमा झरि रहेको पहिरोले देखाउछ । लामो समयदेखि नारायणगढ मुग्लिन सडक क्षेत्रमै कार्य क्षेत्र बनाएर काम गरिरहनुभएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनाल अहिले राजमार्गमा नयाँ नयाँ ठाउँमा पहिरो झर्ने समस्या देखिएको बताउनुहुन्छ ।
“त्यो बेला विज्ञ टोलीले पनि अनुमान नै नगरेका ठाउँबाट अहिले पहिरो झरि रहेको छ । यसलाई हेर्दा कतै त्यो बेला हामीले गरेको अध्ययन अपुरो हो की भन्ने पनि देखाउछ,” इन्जिनियर खनालले भन्नुभयो । उहाँ नारायणगढ मुग्लिन सडक पुनर्निर्माणदेखि नै यो सडकमा काम गर्दै आउनुभएका इन्जिनियर मध्ये एक हुनुहुन्छ ।

आज सेति दोभानमा आएको पहिरोले राजमार्ग अवरुद्ध छ । यो ठाम नितान्त नयाँ ठाउँ हो । उहाँ भन्नुहुन्छ, “माथिबाट किसानको खेतवारी समेत पहिरोमा झरेको छ यसलाई कसरी रोक्ने भन्ने चिन्ता अहिले सडक डिभिजन कार्यालयको हो ।”
गत अघिल्लो बुधवारदेखि अवरुद्ध यो सडक कहिले खुल्ने कहिले बन्द हुने हुँदै आएको छ । चार वर्ष अघि सडक पुनर्निर्माण हुँदै गर्दा आयोजनाले सडमसँगैै रहेका ३१ स्थानका चट्टानमा पहिरो नियन्त्रण पनि गरेको थियो । अहिले त्यो क्षेत्र सुरक्षित पनि छ । आई.सि.टी.का तत्कालिन आवसिय इन्जिनियर पुष्कर रेग्मीले दुई वर्ष अघि गोरखापत्रसँग कुराकानी गर्दै नयाँ नयाँ पहिरो खसेको ठाउँमा आफूहरुले अध्ययन नगरेको बताउनुभएको थियो ।

“आईसिटी को विज्ञ टोलीले सडकको ३१ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरेर नियन्त्रणका लागि नारायणगढ मुग्लिन सडक आयोजनालाइ सुझाव दिएको थियो”, उहाँले दुई वर्ष अघि भन्नुभएको थियो, “पहिरो नियन्त्रण गरिएका यि ठाउँ अहिले पनि सुरक्षित छन् ।” अहिले नयाँ नयाँ ठाउँमा पहिरो झरि रहेको छ । त्यै पहिरो जोखिमको नयाँ ठाउँ पहिचान गर्न नसक्नु नै तत्कालिन अवस्थाको त्रुटी भएको विज्ञहरुको भनाइ छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर बावुराम सापकोटा पहिरोको समस्या समाधान गर्न दीर्घकालिन योजना अघि बढाउनुपर्ने तर्क गर्नुहुन्छ ।
“हरेक वर्ष नयाँ नयाँ ठाउँबाट पहिरो झरि रहेको छ । यसको यकिन कारण अध्ययन हुन जरुरी छ”, उहाँले भन्नुभयो । उहाँको अनुमानमा तीन वर्र्ष अघि मात्रै पुनर्निर्माण सकिएको यो सडकमा सडक पुनर्निर्माणका क्रममा काटिएका चट्टानहरु नै अहिले पहिरो बनेर झरेका हुन् ।

“सेट भएर बसेको राजमार्ग हामीले चलायौँ (पुनर्निर्माण गर्ने काम ) फेरि सेट हुन पनि त समय लाग्छ”, उहाँले भन्नुभयो ।
नयाँ नयाँ ठाउँबाट पहिरो झर्न थालेपछि वर्षादको सिजन यात्रुले दुःख पाइरहेका छन् । डिभिजन प्रमुख सापकोटाका अनुसार सडकको बिस किलो, चौध किलो, सत्र किलो, पाँच किलो, चार किलो लगायतका दर्जन ठाउँमा नयाँ पहिरोे छ । तर अहिले बढी समस्या बनाएको सेती दोभानले हो ।

सडक अवरुद्ध हुनेगरि पहिरो खस्नुमा सडकमाथि बनेका जथाभावीका ग्रामीण सडक पनि कारण हुन सक्ने बताइन्छ । मूल सडकभन्दा माथि स्थानीय निकायहरुले विभिन्न ग्रामीण सडकहरु बनाइ रहेका छन् । सडकभन्दा मािथल्लो भागको चट्टान चलाउदै गरेर त्यो पहिरोका रुपमा आएर बस्ने तल सडकमै भएको डिभिजन प्रमुख सापकोटाको भनाइ छ ।

“सत्र किलोमा अहिले झरेको ठूलो चट्टानभन्दा माथि प्लटिङ गरिँदै छ । मूल सडकबाट त्यो प्लटिङसम्म जाने सडक बनाउँदा पनि अहिले समस्या भयो,” उहाँले भन्नुभयो ।
अब पहिरो नियन्त्रणका लागि दीर्घकालिन समस्याको समाधान खोज्दै रुख बिरुवाहरु रोपेर पहिरो नियन्त्रण गरिने प्रविधि ‘वायोइन्जिनियरीङ्ग’ प्रविधिलाई जोड दिन सकिने हो भने पनि पहिरो नियन्त्रणमा ठोस कदम हुन सक्ने विज्ञहरुले औँल्याएका छन् ।

यो प्रविधि नेपालको आफ्नै मौलिक प्रविधि हो । यसलाई पहिलो पटक पृथ्वीराजमार्गको कृष्णभिरमा प्रयोग गरिएको थियो ।
देशकै प्रमुख राजमार्गमध्येको एक हो, नारायणगढ मुग्लिन सडक । राजधानी काठमाडौंलाई आवश्यक पर्ने खाद्यान्न तथा लत्ता कपडा र अन्य अत्यावश्यक सामानहरु पनि यहि सडकबाट काठमाडौं लग्ने गरिन्छ । राजधानीलाई तराईका जिल्लाहरु सँग जोड्ने यो मुख्य सडक एकैछिन अवरुद्ध हुँदा यहाँ गुड्ने हजारौँ सवारी साधन र लाखौ यात्रु अलपत्र पर्ने गर्दछन् । यद्यपी अहिले एक हप्तादेखि यो सडक अवरुद्ध छ ।

प्रकाशित : २०७८ असार २४ गते १५:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI