१५ वर्षकी किशोरीले गरिन् नाबालक भाईको योजनाबद्ध हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २४ गते १८:२१
१५ वर्षकी किशोरीले गरिन् नाबालक भाईको योजनाबद्ध हत्या

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ का दिलिप बिष्टका साढे तीन वर्षका नाबालक छोरा विवेक बिष्टको योजनाबद्ध ढंगले हत्या गरिएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले आज टीकापुरमा पत्रकार सम्मेलन गरी घटनाका बारेमा जानकारी दिएको छ।

कैलालीका प्रहरी प्रमुख एसपी विश्व अघिकारीले हालसम्मको अनुसन्धानले हत्यामा मृतक नाबालकको दिदी नातापर्ने १५ वर्षकी किशोरीका सकुन्तला (नाम परिवर्तन) को संलग्नता रहेको देखाएको जानकारी दिए। उनी हाल प्रहरीको नियन्त्रणमा छिन्। प्रहरीले अर्की एक १४ वर्षकी बालिका (सकुन्तलाको साथी) लाई समेत नियन्त्रणमा लिएको छ। एसपी अधिकारीका अनुसार सकुन्तलाको साथीको भने हत्यामा प्रत्यक्ष संलग्नता रहेको देखिँदैन।

घटना अनुसार दिदी नातापर्ने सकुन्तलाले मृतक नाबालकलाई खेल्न जाने भन्दै असार २१ गते बिहान ११ बजे आफूसँगै लगेर गईन्  उनीहरु छिमेकी समेत हुन्। उनले नाबालकलाई खेलाउने बहानामा डोर्‍याउँदै जमरा कुला तर्फ लगिन्। उनीहरुको घर र जमरा कुलो झण्डै एक किलोमिटरको दूरीमा छ।

उनले विवेकलाई घरभन्दा केही पर रहेको जामुनको बोटबाट जामुन टिपेर खुवाईन्। त्यसपछि उनीहरु कुलातर्फ हिँडे। कुलाको किनार नपुग्दै बाटोको छेउमा बालबालिकालाई खेल्नका लागि फलामको पिङ बनाईएको छ। उनले विवेकलाई त्यहाँ पिङ खेलाइन्। उनीहरु पिङ खेलिसकेपछि फेरि कुलाको किनारतर्फ हिँडे।

पिङ भएको ठाउँबाट कुलाको किनारतर्फ जाने छोटो बाटो भएकोमा उनीहरुले लामो बाटो प्रयोग गरेका छन्। अनुसन्धानका क्रममा सकुन्तलाले लामो बाटो प्रयोग गर्नुको कारण छोटो बाटोमा विवेक जान नमानेको बताएकी छन्। ‘त्यो बाटोमा झाडी धेरै छ’, घटनास्थलमा अनुसन्धानका लागि पुर्‍याईएकी उनले एसपी अधिकारीसँग भनिन्,‘बाबु जान मानेन।’

उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन्। त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन्। उनले चाँदीको बाला निकाले पछि विवेकलाई किनारमा उभिन लगाइन् र कुलोमा धकेलिन्।

विवेकलाई कुलोमा धकेले पछि उनी घर फर्किइन्। उनले विवेकको खुट्टाबाट निकालेको चाँदीको बाला हाल प्रहरीको नियन्त्रणमा रहेकी साथीलाई राख्न दिइन्। उनी त्यसपछि आफ्नो घर गएर लुगा फेरिन्।

आफ्नो घरबाट निस्केकी उनी त्यसपछि अन्य चारजना साथीहरुको घरमा पुगेकी थिइन्। ती मध्ये दुईजनाले बजार पुगेर चाँदीको बाला बेच्ने प्रयास गरेको कुरा अनुसन्धानका क्रममा देखिएको एसपी अधिकारीले जानकारी दिए। उनका अनुसार चाँदीको बाला बेचेर दुवैजनाले काठमाडौं जाने सल्लाह गरेका थिए।

उनले चाँदीको बाला निकाल्नु र त्यसलाई साथीसँग राख्न दिनुलाई घटना अन्यत्र मोड्न खोजेको प्रहरीसँग भनेकी छन्। ‘यो घटना एकदमै चलाखीपूर्ण ढंगले गरिएको देखिन्छ’, एसपी अधिकारीले भने,‘१५ वर्षको बालिकाले हत्यामा आफ्नो संलग्नताका प्रमाण मेटाउन खोज्नुले घटना गम्भीर रहेको देखाउँछ।’

सकुन्तलाले सुरुमै घटनालाई अन्यत्र मोड्न खोजेकी थिइन्। उनले जामुन खाएर फर्किने क्रममा आफू साथीको घर किताब लिन गएको र भाई समेत आफ्नो साथीको घर खेल्न गएको भनेकी थिइन्। उनले नाबालककी आमालाई विवेक साथीको घरमा रहेको जानकारी दिएकी थिइन्।

जब विवेककी आमा त्यहाँ गईन् त्यसपछि मात्रै विवेक बेपत्ता भएको रहस्य खुलेको थियो। त्यसपछि मात्रै विवेकको खोजी सुरु भएको थियो। सुरुमा सकुन्तलाले भाइलाई छोडेको ठाउँनेर अटो रोकिएको, पानी बोक्ने गाडी आएको, टिप्पर हिँडेको जस्ता कुरा प्रहरीलाई बताइन्। उनी सुरुमै प्रहरीको ध्यान अन्तै मोड्न चाहन्थिन्।

प्रहरीले घटनालाई उनीसँगै जोडेर अनुसन्धान बढायो। सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी पुरुषोत्तम कँडेल आफै घटनास्थल पुगे। कैलालीका प्रहरी प्रमुख एसपी अधिकारी आफै अनुसन्धानमा जुटे।

प्रहरीलाई सकुन्तलाले चाहेर पनि अन्त मोड्न सकिनन्। उसले बालकको खोजी र अनुसन्धानलाई एकसाथ अघि बढायो। प्रहरी सकुन्तलाको कुराबाट विवेकको शव कुलोमै छ भन्ने कुरामा निश्चित भैसकेको थियो। प्रहरीले कुलोको पानी मुहानबाटै थुनेर सुकायो।

प्रहरीले असार २३ गते साढे ५ बजे घटनास्थलबाट करिव ५ किलोमिटर तल टीकापुर नगरपालिका वडा नं. ४ बाघमारास्थित कुलोमा नाबालकको शव भेटाएको थियो। उनको शव पानीमा रहेको बेतको झाडीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो।

सकुन्तलाले पारिवारिक रिसिईबीका कारण विवेकको योजनाबद्ध ढंगले हत्या गरेको प्रहरीले दावी गरेको छ। एसपी अधिकारीले थप दुईजना शंकाको घेरामा रहेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिए। ‘हत्यामा अन्य कुनै पक्ष पनि संलग्न छ कि भनेर अनुसन्धान भैरहेको छ’, एसपी अधिकारीले भने,‘हामी अनुसन्धानको क्रममै छौं।’-नागरिक न्युज

(हत्या आरोपी र उनका साथीहरु नाबालक भएकाले उनीहरुको परिचय गोप्य राखिएको हो।)

प्रकाशित : २०७८ असार २४ गते १८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI